कहिले जान्छ नरैनापुरमा ईलाका प्रशासन कार्यालय ?
Thursday, January 6th, 2022, 5:00 am
Kalpristha
–वीरेन्द्र जैसी
नरैनापुर अब आधा दशकभन्दा पहिलेजस्तो रहेन । हुलाकी सडकले नेपालगन्जसँग जोडेपछि सदरमुकामसँग सिधा र सहज सम्पर्क भएको छ । बिजुली बत्ती पुगेको छ । स्वास्थ्यका आधारभूत संरचनाहरु तयार भएका छन् । नरैनापुरमा सामाजिक सद्भावको विकास भएको छ ।
गाउँमा सिंहदरबार उपमा दिइएको स्थानीय तहको सरकार स्थापनापछि अधकांश सेवामा नागरिकको र राज्यको सम्बन्ध पहिलेभन्दा मजबुत भएको छ । तर, नरैनापुरवासीले एउटा सेवा लिन अहिलेपनि द्वन्द्वकालमा देशभरका नागरिकले भोगेको जस्तो सदरमुकाम नआएर सुख छैन ।
नागरिकतालगायत प्रशासनका सबै सेवाहरु लिन नरैनापुरवासीहरु अहिलेपनि ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगन्ज पुग्न बाध्य छन् । फेरि कागजपत्र वा प्रकृया नपुगेमा नरैनापुरवासीहरु नेपालगन्ज-नरैनापुरको ओहोरदोहोर यात्रा गरिरहेका छन् । राज्यका कारण नागरिकले शारीरिक सास्तिका साथै समय, पैसा फजुल खर्च भइरहेको छ । ‘एकजना मान्छे नरैनापुर नेपालगन्ज पुग्दा कम्तिमा पनि पाँच सय रुपैयाँ खर्च हुन्छ । उसँग साथी आउने मान्छेसहित हिसाब गर्दा एकजना नागरिकले कम्तिमा एक हजार रुपैयाँ खर्च गर्छ । एकदिनमा काम भएन भने खर्च पनि डबल,’ नरैनापुरबाट सेवा लिन आएका जरिफ खाँले भने ।
सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरका सदरमुकाम बाहिरका कार्यालयजस्तै ईलाका प्रशासन कार्यालय नरैनापुर पनि नेपालगन्ज सारियो । तर, शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा र अरु ठाउँका कार्यालयहरु आ-आफ्नो कार्यक्षेत्रमा फर्किसक्दा पनि नरैनापुर क्षेत्रलाई सेवा दिन भनेर स्थापना गरिएको कार्यालय भने नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै बसेको छ ।
======
सूर्यबहादुर खत्री, प्रजिअ, बाँके
ईलाका प्रशासन सार्न हामीले प्रयास गरेका हौँ । तर नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन छैन । जनप्रतिनिधिलाई कार्यलय भवनका लागि आग्रह गरिएको छ । तर पाइएको छैन । ईलाका प्रशासन कार्यालयका लागि आवश्यक जनशक्ति पनि छैनन् । सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेमा कार्यालय सार्न सजिलो हुनेछ । यद्धपि कार्यालय यथास्थानमा सार्नका लागि छलफल अघि बढाउछौँ ।
======
इश्तियाक अहमद शाह, अध्यक्ष, नरैनापुर गाउँपालिका
अहिलेको समयमा पनि नरैनापुरमा भवनको समस्या छ भन्ने कुरा सही होइन । प्रशासन आउन चाह्यो भने हामी सबै व्यवस्था गर्न तयार छौँ । मैले कयौँ पटक यहाँ सार्न भनेको छु । उहाँहरु भने कर्मचारीको नै अभाव भएको भन्दै आलटाल गर्नुहुन्छ । कर्मचारीको व्यवस्था गरेर कार्यालय नरैनापुरमै सार्नुपर्छ भन्ने हाम्रो माग हो ।
======
शान्ति सम्झौतापछि इलाका प्रशासन कार्यालय नरैनापुरमा गएर सेवा दिन सुरु पनि गरेको हो । तर गम्भीर सुरक्षा चुनौति देखिएको भन्दै आर्थिक वर्ष २०७०-२०७१ सालमा नेपालगन्ज सारियो । त्यसपछि स्थानीय तहको निर्वाचन भई ‘गाउँ-गाउँमै सिंहदरबार’ स्थापना भइसक्दा पनि प्रशासन भने नरैनापुर जान सकेन । स्थानीय सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रशासन कार्यालयलाई नरैनापुरमा सार्ने कुनै सुरसार छैन ।
बाँकेका प्रमुख जिल्ला अकिकारी सूर्यबहादुर खत्री नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन नै नभएको बताउँछन् । उसो त नेपालगन्जमा पनि ईलाका प्रशासन कार्यालय गजबको भवनमा राखिएको छैन । जिल्ला प्रशासनकै पुरानो एकतले भवनको एउटा कोठामा कार्यालय चलिरहेको छ । प्रजिअ खत्रीले भवनको व्यवस्थाका लागि नरैनापुरका जनप्रतिनिधिलाई आग्रह गरिएपनि अहिलेसम्म त्यसको व्यवस्था नहुँदा कार्यालय सार्न नसकिएको बताए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाइ भने त्यसको ठिक विपरित छ । उनी भन्छन्, ‘अहिलेको समयमा पनि नरैनापुरमा भवनको समस्या छ भन्ने कुरा सही होइन । प्रशासन आउन चाह्यो भने हामी सबै व्यवस्था गर्न तयार छौँ । मैले कयौँ पटक यहाँ सार्न भनेको छु । उहाँहरु भने कर्मचारीको नै अभाव भएको भन्दै आलटाल गर्नुहुन्छ ।’
खासमा हाल इलाका प्रशासन नरैनापुर एकजना नायव सुब्बाको भरमा चलिरहेको छ । जिल्ला प्रशासनका प्रशासकीइ अधिकृत रामुकमार सोनखरलाई इलाकाका कागजातहरुमा हस्ताक्षर गर्नेगरी जिम्मेवारी दिइएको छ । साथमा एकजना कम्प्युटर अपरेटर छन् । इलाका प्रशासन नै प्रमुख विहीन छ । प्रमुख जिल्ला अधिकारी खत्रीले कर्मचारी अभाव हुनु पनि इलाका प्रशासनलाई आफ्नै ठाउँमा सार्र्न नसक्नुको मुख्य कारण रहेको बताए ।
उनका अनुसार इलाका प्रशासन कार्यालयका लागि कम्तिमा ९ जना कर्मचारी आवश्यक हुन्छन् । सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेमा कार्यालय सार्न सजिलो हुने उनले बताएका छन् । यद्धपि प्रजिअ खत्रीले कार्यालय यथास्थानमा सार्नका लागि छलफल अघि बढाइने आश्वासन दिएका छन् ।