महिला उद्यमी संघको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु
Thursday, January 6th, 2022, 3:10 pm
Kalpristha
महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगन्ज वडा नम्बर २ कमिटीको सह-आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुका स्टलहरु राखिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालय नेपालगन्जको सहयोग र नेपालगन्ज उप-महानगरपालिकाको समन्वयमा प्रदर्शनी आयोजना गरिएको हो ।
लुम्बिनी प्रदेशका वत वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले प्रदर्शनीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष निरु रायमाझी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन मधुसुदन रिजाल, नेपालगन्जका विभिन्न वडाध्यक्षहरु एवं उद्योगी व्यवसायीहरु सहभागी थिए ।
महिला उद्यामी संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमका वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरेका छन् । मन्त्री हमालले स्वदेशी उत्पादनको प्रवद्र्धनमा अब राज्यले दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने कुरामा जोड दिए । ‘हामीले आफ्नो देशका उत्पादनलाई माया गर्यौँ भने त्यसले उद्यामीलाई ठूलो हौसला मिल्छ । राज्यका तर्फबाट पनि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

प्रदर्शनी
उद्योगी व्यवसायीका लागि बजारीकरण महत्वपूणर् विषय भएकोले महिला उद्यमी संघले त्यसको बारेमा ज्ञान सीप आदानप्रदान गर्ने उदेश्यले प्रदर्शनी आयोजना गरेको अध्यक्ष रस्तोगीले बताइन् । प्रदर्शनीमा सहभागीहरुलाई स्वागत गर्दै महिला उद्यमी संघ बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले प्रदर्शनी आयोजनाका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरिन् ।
प्रदेश सभा सदस्य नमुनाले भनिन्, ‘हामी आत्मनिर्भर बन्ने हो भने ठूला कुरा गरेर हुँदैन । महिला उद्यमीलाई नै सशक्त बनाउन सक्ने हो भने धेरै परिवर्तन आउन सक्छ ।’ नमुनाले महिला उद्यमीका समस्या सम्बोधनका लागि राज्यले भूमिका खेल्न नसकेको बताइन् ।
प्रदर्शनीमा लुम्बिनी प्रदेशका रुकुम पूर्वबाहेक सबै ११ जिल्लाका उद्यमीहरुले घरेलु उद्योगबाट उत्पादित दालमोठ, नमकिन, कपडा, पोते, गुडिया, ह्याण्डब्याग, हस्तकलाका सामान, श्रृंगारका सामान, गुन्द्री, बुटिकका सामान, डेकोरेशनका सामानका स्टलहरु राखेका छन् । यसैगरी अर्गानिक दाल, मह, पिठो, कुखराजन्य उत्पादनका गरी ६० भन्दा बढी स्टलहरु पनि प्रदर्शनीमा राखिएका छन् । महिला उद्यमी संघ बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले आफूहरुको अपेक्षा करिब ५० स्टल आउने रहेकोमा त्यसभन्दा बढी नै आएको भन्दै खुसी व्यक्त गरिन् । नेपालगन्जस्थित सुनाखरी पार्टी प्यालेसमा प्रदर्शनी भइरहेको छ ।

प्रदेश सभा सदस्य नमुना
उत्कृष्ट महिला उद्यमी सम्मानित
कार्यक्रममा उत्कृष्ट महिला उद्यमी नेपालगन्जकी सत्यवती कुर्मी र सुशीला गौतम, कोहलपुरकी सरिता थापा एवं प्युठानकी दुर्गा केसीलाई सम्मान गरियो । यसका साथै नेपालगन्ज उपमहानगरपलिकाकी उपमेयर उमा थापामगर र वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल वडासदस्यहरु ध्रुवबहादुर दाहाल, रामकुमार वैश्य, आशा विष्ट, नपालगन्ज उप-महानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक अधिकृत मन्जु पाण्डे, वडा नम्बर २ का वडासचिव खेमराज सुवेदीलगायतलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल, महिला उद्यमी संघका निरु रायमाझी खत्री र संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
मधेशी समुदायको एकल महिला कुर्मीले व्यवसाय क्षेत्रमा गरेको प्रगति र समाजलाई दिएको प्रेरणाको कदर गर्दै सम्मान गरिएको कार्यक्रममा जानकारी दिइयो । सरोज राइस मिलबाट व्यवसायको सुरु गरेकी कुर्मीले २०३९ सालबाट सत्यवती ग्रिल उद्योग सूरु गरिन् । उक्त उद्योगमा कुर्मीले आफै शारीरिक परिश्रम गरेर उद्योगलाई स्थापित गरेकी थिइन् । कर्मीले सुरु गरेको उक्त उद्योग नेपालगन्ज-१ मा उनको परिवारले अहिले पनि सन्चालन गरिरहेको छ । कुर्मी बाँकेको राजनीतिक आन्दोलनकी अग्रणी महिला पनि हुन् । कुर्मी सम्मानित भइसकेपछि भनिन्, ‘तन बुढो भएपनि मन बुढो भएको छैन । अहिलेपनि म आफै घन चलाउन सक्छु भन्ने हिम्मत छ । तपाईंहरु पनि मतमा ठूलो हिम्मत लिएर काम गर्नुहोस् ।’
दुर्गा केसीले २०३९ सालबाट झिमरुक हर्बल उद्योग च्युरीको घ्युको उत्पादनबाट व्यवसायिक उत्पादन सुरु गरेकी केसीले अहिले साबुन उद्योग सन्चालन गरिरहेकी छन् ।
यस्तै सुशीला गौतमले २०५४ सालदेखि हस्तकलाको व्यवसाय सुरु गरेर आफू पनि आत्मनिर्भर बनेको र अरुलाई आत्मनिर्भर हुन प्रेरित गरेको भन्दै सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिइन् । बस्नेतको नेपालगन्ज वडा नम्बर २ मा हस्तकला व्यवसाय सन्चालनमा छ । साथै गौतमले महिला उद्यमी संघलाई संस्थागत स्थायित्व दिन र कोसेली घर स्थापनमा पनि महत्वपूणर् भूमिका खेलेको भन्दै सम्मान गरिएको संघले जनाएको छ । सम्मानित अर्की उद्यमी सरिताले २०७० सालदेखि पोल्ट्री फार्म सन्चालन गरेर आत्मनिर्भर बनेकी छन् ।
उपमेयर उमा थापामगरले महिला उद्यमीलाई उपमहानगरपालिकामा रहेर प्रेरित गर्न र व्यवसाय प्रवद्र्धनमा संस्थागतरुपमा सघाउने काम गरेकोले सम्मान गरिएको संघले जनाएको छ । सम्मानपछि बोल्दै उपमेयर उमा थापामगरले उपमहानगरपालिका मार्फत महिला उद्यमीहरुको हितका लागि संस्थागत सहयोग गरिएको बताइन् । उनले महिला सशक्तिकरणका लाथि आर्थिकरुपले सक्षम बनाउनु जरुरी रहेको तथ्यलाई उप-महानगरले बुझेर काम गरेको बताइन् । उनले संस्थागत प्रयासलाई निरन्तरता लिन महिला उद्यमी संघलाई आग्रह गरिन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाललाई कोसेलीघरका लागि जग्गा उपलब्ध गराउन सहयोग गरेको भन्दै सम्मान गरिएको जनाइएको छ ।