बाँकेमा फेरि बाघले लियो ज्यान
Thursday, January 6th, 2022, 5:04 pm
Kalpristha
बाँकेमा फेरि बाघले एकजना महिलाको ज्यान लिएको छ । बिहीबार बाघले राप्ती सोनारी गाउँपालिका–४ की ५३ वर्षीय लिला विष्टको ज्यान लिएको हो ।
दिउँसो स्थानीय जलहन सामुदायिक वनमा तीनजना महिला घाँस काट्न गएका थिए । सोही क्रममा बाघको आक्रमणमा परेर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी बाँकेका अनुसार बिष्टलाई बाघले झम्टिएर लगेपछि संगै गएकाहरु महिलाहरु फर्किएर गाउँमा खबर गरेका थिए । त्यो खबर पाएर प्रहरी र स्थानीय ट्याक्टरमा चढेर उनको खोजीका लागि वनमा गएका थिए । बाघले बिष्टलाई झम्टेको घटनास्थलदेखि झन्डै ५० मिटर जति टाढा घिसारेर लगेको थियो । मानिसहरु त्यहाँ पुग्दापनि बिष्टलाई बाघले नछोडेपछि प्रहरीले हवाई फायरसमेत गर्नु परेको थियो ।
हवार फायरपछि बाघ भागेपछि प्रहरी र स्थानीयले बिष्टको शव लिएर आउन सफल भएको थिए । मृतक विष्टको शव हाल पोष्टमार्टमका भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।
जिल्लामा गत बुधबार सोही पनि वडामा बाघले आतंक मच्चाएको थियो । बैजापुुरको नयाँ बस्तीकी ३० वर्षिया थारु बुधबार दिउँसो १२ बजे अन्य साथीहरुको समूहमा पात टिप्न भन्दै वनमा गएको बेला बाघले एक्कासी झम्टेको थियो । पाटे बाघले झम्टेपछि प्रतिकार गर्दै पात टिप्न घरेलु हतियार ‘खुर्पा’ले बाघको अनुहारमा प्रहार गर्दै थारु बाघ आक्रमणबाट बाँच्न उनी सफल भइन् । उनको दुवै हातमा बाघले कोतारेको छ । थारुको नेपालगन्जमा उपचार भइरहेको छ ।