लुम्बिनी कांग्रेस सभापति बाँकेमा
Thursday, January 6th, 2022, 7:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ पुस
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई बाँकेमा स्वागत गरिएको छ । निर्वाचित भएपछि पहिलो पटक बाँकेमा आएका पुनलाई बिहिबार कांग्रेस बाँकेका नेता तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरेका हुन । उनलाई स्वागत गर्न कांग्रेस नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट कांग्रेस पार्टी कार्यालयमा सभापति पुनलाई बाँके पार्टी सभापति किरण कोइराला लगायतले स्वागत तथा सम्मान गरेका थिए । लुम्बिनी प्रदेश सभापति पुन माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि नेपालगन्ज आएका हुन ।
उनले बाँकेका पार्टी निकट नेता तथा कार्यकर्तासँग बिहिबारनै छलफल गरेका छन ।
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले लुम्बिनी प्रदेशबाट बाँकेका पुर्व पार्टी सभापति युवराज शर्मालाई उमेदवारका रुपमा उठाएको छ । राष्ट्रिय सभा निर्वाचनमा शर्मालाई कसरी विजयी गराउने भन्ने बारेमा सभापति पुनले बिहिबार कुराकानी सुरु गरेको कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापाले बताइन । शर्माको चुनावी प्रचारप्रसारका लागि लुम्बिनी प्रदेशका सबै जिल्लामा भ्रमण गर्ने तयारी भएको पनि थापाले कालपृष्ठसँग बताइन ।