एमाले बाँके अध्यक्षमा सर्वसम्मतिको प्रयास, चार जना अन्तिम चर्चामा
Friday, January 7th, 2022, 6:38 am
Kalpristha
एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, नेताहरु डिल्ली विसी, घननाथ खनाल, अशोक कर्माचार्य, गोपाल गिरी, सतिश निरौला लगायतले अध्यक्षमा आकांक्षा प्रकट गरेका थिए । तर सर्वसम्मतिको प्रयासमा लाग्दा भने चार जनाको नाममाथि चर्चा केन्द्रीत भएको बताइएको छ । वर्तमान अध्यक्ष गुरुङ, उपाध्यक्ष कक्षपति, सचिव खत्री र नेता डिल्ली विसीको नाम अहिले जिल्लास्थित केन्द्रीय सदस्य एवं अग्रज नेताहरुको छलफलमा रहेको बताइएको छ ।
तीमध्ये युवा पुस्ताको जोड खत्री वा बिसीलाई जिम्मेवारी दिनुपर्ने रहेको छ भने कतिपयले अनुभवप्राप्त व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने भन्दै कक्षपतिको दाबी बलियो रहेको बताउँछन् । नयाँ पुस्ताको आकांक्षीमा रत्न खत्रीको दाबी बलियो रहेको नेताहरु बताउँछन् । खत्रीको कार्यकर्तासम्मको लोकप्रियता, क्षमता र पार्टी फुटपछिको अवस्थालाई ध्यानमा राखेर जिल्लाको नेतृत्व दिनुपर्ने अधिकांश प्रतिनिधिको मत रहेको एक नेताले बताए । खत्रीले तत्कालिन प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा खुलेर विरोध गरेका थिए । पार्टी फुटसँगै उनी माधव नेपाल नेतृत्वको समाजवादीमा जाने आशंका गरिएको थियो । तर खत्रीले एमाले छोडेनन् । अहिले पार्टीभित्रको समीकरणलाई मिलाउन र कार्यकर्तामा एकताको सन्देश दिन पनि उनलाई जिम्मेवारी दिनुपर्ने कार्यकर्ताहरु बताउँछन् । कतिपय कार्यकर्ताहरु भने खत्रीले तत्कालिन समयमा देखाएको पक्षधरका कारण पछि पर्ने संभावना रहेको बताउँछन् ।
अध्यक्षमा आकांक्षा देखाएका युवा नेता सतिश निरौलाले अहिले सहमतिका नाममा पुरानै नेतृत्वलाई दोहोर्याउन नहुने बताए । ‘अहिले नयाँ पुस्तालाई नेतृत्व दिएर जाम खोलिएन भने पार्टीमा तयार भएको उर्जावान युवाहरुले अवसर नै नपाउने अवस्था छ ।’ त्यसकारण युवा पुस्ताको प्रतिनिधि नेतृत्वमा आएमा आफूले पनि स्वीकार्ने उनल बताए । नेता खत्री पनि सहमतिका नाममा आफ्नो दाबी नछोड्ने बताउँछन् । ‘अधिवेशनमा बसिसकेपछि त्यहीँ सबै छलफल हुन्छ । प्रतिनिधिहरुको मनसाय पनि त्यहीँ बुझिन्छ । अधिवेशनबाटै सबै कुरा तय हुन्छ,’ नेता खत्रीले भने ।
अर्का दाबेदार डिल्ली बिसीले आफ्नो दाबेदारी नछोड्ने बताउँदै प्रकृयामा जान रोक्न नहुने बताए । ‘पार्टीमा योगदान, उमेर र अनुभव सबै आधारमा मेरो दाबेदारी बलियो छ । यसैको लागि अधिवेशन बोलाइएको हो । म प्रकृयाको प्रयोग गर्ने पक्षमै अडिग छु,’ उनले भने ।
अध्यक्षका अर्का आकांक्षी कक्षपतिले आफू सहमतिको पक्षमा रहेको बताए । तपाईंको नाममा सहमति भएन भने नि ? भन्ने प्रश्नमा उनले भने, ‘आफ्नो नामको अडान नछोड्ने हो भने सहमति कसरी हुन्छ र ?’ वडा, पालिका अधिवेशन तथा महाधिवेशन र जिल्ला अधिवेशनको प्रतिनिधी सर्वसम्मत चयन भएका कारण जिल्ला अधिवेशनले पनि कमिटी सर्वसम्मत चयन गर्ने उको भनाइ छ ।
सर्वसम्मतिको प्रयासमा लागिपरेका प्रतिनिधि सभा सदस्य एवं एमाले नेता नन्दलाल रोका क्षत्रीले बिहीबार साँझसम्म सहमतिको कुनै संकेत नदेखिएको बताए । ‘आकांक्षी सबैको नाममा छलफल भइरहेको छ । अब अधिवेशन सुरु भएर बन्द सत्रमै छलफल हुने देखिएको छ,’ रोका क्षेत्रीले भने ।
एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल पनि जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गर्छन् । इन्चार्ज ढकालले एमाले विरुद्ध चौतर्फी आक्रमण भईरहेको भन्दै त्यसलाई निश्तेज पार्न सर्वसम्मत जिल्ला कमिटी गठन हुने बताउँँछन् ।