महिला उद्यमीलाई बजारीकरणको पिरलो
Friday, January 7th, 2022, 5:44 am
Kalpristha
प्युठानकी महिला उद्यमी दुर्गा पौडेलले च्युरीबाट बनेका साबुन उत्पादन गरीरहेकी छन् । उनको साबुन गुणस्तरीय र स्सास्थ्यका लागि लाभदायक छ । तर, उनले बजारीकरणमा उत्पादनको गुणस्तरले मागेको अवसर पाउन सकेकी छैनन् । पौडेलको उत्पादनले उनलाई विभिन्न अवार्ड र सम्मान त दिलाएको छ । बजारमा जान भने उनले निश्चित अर्डर र मेला महोत्सव पर्खिनुपर्छ । नेपालगन्जमा सुरु भएको उद्यमी मेलामा सहभागी हुन आएकी दुर्गाले कालपृष्ठसँग भनिन्, ‘हाम्रा लागि सबैभन्दा ठूलो पिरलो बजारीकरणकै हो । हमीले उपादन गरेका उत्पादनहरु बजारमा बिक्री हुने ग्यारेन्टी राज्यले गरिदिनुपर्छ ।’ उनले नेपाली उत्पादनलाई बजारमा कसरी खपत गराउने भन्नेबारे राज्यको नीति नै चुस्त हुनुपर्ने बताइन् ।
बर्दिया मधुवनकी सुन्दरी जोशी आलु चिप्स रदालमोठ उद्यमी हुन् । उनको भन्दा कमसल गुणस्तरका भारतीय उद्योगका चिप्सहरु बजारमा आकर्षक प्योजमा बिक्री भइरहेका छन् । तर उनको बजार बिस्तार हुन सकेको छैन । उनी पनि भन्छिन्, ‘म सँग आकर्षक प्याकेजिङ गर्न मेसिन पनि छैन । बजारीकरणमा राम्ररी जान सकिएको छैन ।’ सुन्दरीले पनि सरकारले आफूजस्ता महिला उद्यमीलाई कसरी बजारीकरणमा सघाउन सकिन्छ भन्ने विषयमा सोच्न जरुरी रहेको बताइन् । बेला मौकामा हुने मेला महोत्सव नै उनका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने माध्यम हुन् ।
बिहीबारबाट नेपालगन्जमा सुरु भएको महिला उद्यमीका उत्पादनको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको उद्घाटनमा बोल्ने वक्ताहरुले बजारीकरणकै विषयमा जोड दिए । उनीहरुले सरकारले मेला महोत्सवका साथै बजारीकरणको पद्धति निर्माणमा पनि सघाउन जरुरी रहेको बताए ।
महिला उद्यामी संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमका वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि मन्त्री सुरेन्द्र हमालले स्वदेशी उत्पादनको प्रवद्र्धनमा अब राज्यले दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने कुरामा जोड दिए । ‘हामीले आफ्नो देशका उत्पादनलाई माया गर्यौँ भने त्यसले उद्यामीलाई ठूलो हौसला मिल्छ । राज्यका तर्फबाट पनि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’
प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले भनिन्, ‘हामी आत्मनिर्भर बन्ने हो भने ठूला कुरा गरेर हुँदैन । उत्पादनदेखि बजारीकरणसम्म महिला उद्यमीलाई सघाएर उनीहरुलाई सशक्त बनाउन सक्ने हो भने धेरै परिवर्तन आउन सक्छ ।’ नमुनाले महिला उद्यमीका समस्या सम्बोधनका लागि राज्यले भूमिका खेल्न नसकेको बताइन् ।
उद्योगी व्यवसायीका लागि बजारीकरण महत्वपूणर् विषय भएकोले महिला उद्यमी संघले त्यसको बारेमा ज्ञान सीप आदानप्रदान गर्ने उदेश्यले प्रदर्शनी आयोजना गरेको अध्यक्ष रस्तोगीले बताइन् । प्रदर्शनीमा सहभागीहरुलाई स्वागत गर्दै महिला उद्यमी संघ बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले प्रदर्शनी आयोजनाका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरिन् ।