कामको आधारमा नेताको मुल्यांकन हुन्छः सभापति पुन
Friday, January 7th, 2022, 1:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ पुस
नेपाली कांगे्रस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी कांग्रेसले सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली कांग्रेसका सबैको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मुल्यांकन गरिने बताए ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी कांग्रेसको गर्ने तयारीमा रहेका विस्तृत योजनाका बारेमा पनि जानकारी गराए । उनले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताए ।
‘महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरेर पास गर्ने योजनामा हामी छौं’ पुनले भने ।
पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्येनजर गर्दै नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेको बताए । उनले भने, ‘हाम्रो पाटी भनेको अरुलाई सिकाउने पाटी हो । हामी अरुभन्दा फरक ढंगले हिँड्नु पर्दछ । हामीले ४ करोड जनतालाई केन्द्रविन्दू बनाएर अबको बाटो के हो भनेर तय गर्नु पर्छ । हामीले के ग¥यौं, के गर्न सक्यौं र के गर्न सक्छौं भनेर सोच्नु पर्दछ ।’
पुनले नेपाली कांग्रेसको अधिवेशन लोकतान्त्रिक भएका कारण अधिवेशन जसरी सम्पन्न भए पनि जितेर आउने साथीहरुले नेपाली कांग्रेसको हित सोचेर सबैलाई समान व्यवहार देखाउनु पर्ने बताए । ‘लोकतन्त्रभित्र लोकतान्त्रिक पद्दती मान्नुपर्छ । जसमा प्रतिस्पर्धा पनि हुन्छ । सर्वसम्मत पनि हुन्छ । अवको अधिवेशन सकिएपछि हामी एक ढिक्का भएर लुम्बिनी कांग्रेसलाई अगाडि बढाउने, मजबुद बनाएर लग्नुपर्छ,’ पुनले भने ।
पुनले नेपाली कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइरालाको सम्झानामा रोल्पामा सुशील स्मृति भवन बनाएको जानकारी दिए । उनले करिब दुई करोडको लागतमा सुशील कोइरालाको शालिक सहितको भवन बनाएको बताए । पुनले उक्त भवन बनाउन बाँकेबाट पनि सहयोग रहेको बताए ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले माग १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांगे्रस गठबन्धनलाई निर्वाचित गराउन प्रेस युनियनको सक्दो भूमिका रहने बताए । उनले कार्यक्रममा प्रेस युनियनले सुरु गरेको पत्रकार कल्याण कोषमा सबैलाई सहयोगका लागि पनि अपिल गरे । ओलीले समग्र पत्रकारहरुलाई समस्या परेको बेला सहयोग प्रदान गर्ने हेतुले कोषको संचालन गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, बाँके पूर्व सभापति युवराज शर्मा, नेपाल प्रेस युनियन उप–महासचिव प्रेम केसी, बाँके क्षेत्र नम्बर १ सभापति पोषण केसीलगायत लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।