नयाँ नेतृत्व चुन्दै बाँके एमाले
Saturday, January 8th, 2022, 6:00 am
Kalpristha
नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ । बाँकेसहित देशका ६३ वटा जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घााटन गरे । उनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न र सर्वसम्मतिबाट संभव नभएमा मात्रै निर्वाचनको विकल्प अपनाउन निर्देशन दिए । उनले अहिले पार्टीको लागि सर्वसम्मति उत्तम विकल्प भएको बताए ।
अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले आसन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकूल आउन सक्ने बताएका छन् । ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने पनि बताए । चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उनले बताए ।
ओलीले भने, ‘अहिले पनि एक्लै हामी मजबूत छौं । तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूणर् शक्ति मिलेर प्रतिकूल परिस्थिति आउन सक्छ । सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकि यो आजको जनादेश होइन ।’
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको उद्घाटन शत्रमा बोल्ने अधिकांश वक्ताहरुले पनि अबको नेतृत्व सर्वसम्मतिमा चयन गर्नुपर्ने धारणा राखेका थिए । अधिवेशनको उद्घाटन सत्रमा एमाले पोलिटब्युरो सदस्य खेममान खड्काको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रपछि शुक्रबार साँझबाटै बन्द शत्र पनि सुरु भएको छ । बन्द शत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदन पारित गरेर बन्दशत्र शनिबारसम्मका लागि स्थगित गरिएको छ । शनिबारबाट नेतृत्व चयन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, नेताहरु डिल्ली विसी, घननाथ खनाल, अशोक कर्माचार्य, गोपाल गिरी, सतिश निरौला लगायतले अध्यक्षमा आकांक्षा प्रकट गरेका थिए । तर सर्वसम्मतिको प्रयासमा लाग्दा भने चार जनाको नाममाथि चर्चा केन्द्रीत भएको बताइएको छ ।
तीमध्ये युवा पुस्ताको जोड खत्री वा बिसीलाई जिम्मेवारी दिनुपर्ने रहेको छ भने कतिपयले अनुभवप्राप्त व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने भन्दै कक्षपतिको दाबी बलियो रहेको बताउँछन् । नयाँ पुस्ताको आकांक्षीमा रत्न खत्रीको दाबी बलियो रहेको नेताहरु बताउँछन् ।
अहिले नयाँ पुस्तालाई नेतृत्व दिएर जाम खोलिएन भने पार्टीमा तयार भएको उर्जावान युवाहरुले अवसर नै नपाउने अवस्था आउने अधिवेशन प्रतिनिधिहरुको चिन्ता छ । सर्वसम्मतिबाटै चयन हुँदा पनि नयाँ पुस्तामा नेतृत्व आउनुपर्ने अधिवेशनस्थलमा भेटिएका नेता कार्यकर्ताहरुले बताएका छन् ।