सागरका निसर्त यात्राका नियात्रा
Saturday, January 8th, 2022, 11:50 am
Kalpristha
-विपी अस्तु
शिक्षाको उज्यालो हाम्रो टाउकोमा परोस् भनेर बुवाहरुले बम्मईं खस्दै र त्यहाँबाट खस्ने संभावना बोकेका सेकेण्ड सेकेण्डदेखि जोगिँदै केही मुठा रुपियाँ जम्मा गरे । आमाहरुले अत्यन्त मोहपूर्वक घाँटीमा सजाउँदै आएका ताले रुैपैयाँका माला र गरगहना निकालेर बुवाहरुका हातमा राखिदिए । त्यसपछि हाम्रो लागि एउटा कुटी तयार भयो मलुवार भन्ने ठाउँमा ।
मलुवार भन्ने सपनाको देशमा जान पाउने उत्कन्ठाले करिब एक दशक उमेरको मेरो बालमस्तिष्कमा अधैर्यको उछाल ल्याइदिएको थियो । हिड्नेबेला आमाको हात छुट्दा भरिएका उहाँका प्रिय आँखा देखेपछि मेरा आँखाबाट तप्प आशु चुहिएपनि घाटछालसम्म पुग्दा फेरि ॅमैथै राम्णो’ भनेर सुनेको मलुवारको तिलस्मी मोहमा बाल मष्तिष्क लिप्त भइहाल्यो । हिडेरै मलुवार पुग्न मेरा दश वर्षका पैतलाहरु आफ्ना केही कापीकिताब, कपडा र आमाले बाटोमा खानु भनेर राखिदिएका भुटेका मकै भटमास, सिरौला र झरका साना-साना पोकाको झोला बोक्दै उच्चस्तरको उत्साहसाथ लम्किन थाले । हिडेको पहिलो दिन त ठिकै-ठिकै उत्साह रह्यो । दोस्रो दिन जब खुट्टाका कुकुच्चादेखि जोर्नीसम्म दुख्न थाले । मुलुवार त गाउँदेखि रातिमाटे गरेको जस्तो सजिलै भेटिने ठाउँ रहेनछ । जति हिडेपनि पुगिँदैन । त्यसपछि भने मलाई पनि नियात्राकार सागर गैरेलाई बलैगाउँबाट साँझ घर फर्किँदाजस्तै अनुभूति भयो ।
‘थकान, भारी र अत्यासले छटपटिन्थ्यो । तर म आमालाई भन्न सक्दिनथें । आमालाई पनि त झन् गाह्रो भएको होला । मेरोभन्दा कति हो कति ठूलो भारी बोक्नुभएको थियो ।’ -यात्रा बलैगाउँको सम्झना बाल्यकालको, पृष्ठ २७ ।
बस मेरो यात्रामा भने बुवा हुनुहुन्थ्यो । त्यसपछि पनि हिंडेरै चार पटक अछाम कैलाली ओहोरदोहोर गरें । हिडेरै यात्रा गर्दाका पीडादायी छापले यात्रा भनेपछि म एकपटक डराउँछु नै । तर यात्रा पूरा भइसकेपछि यात्राको हिडाइबाहेकका सुन्दर कुराहरु जब सम्झिन्छु त्यसपछि भने लाग्छ नहिडेरै फेरि त्यही ठाउँ पुग्न पाएको भए !
सागर गैरेका नियात्रासँगै ‘बलैगाउँदेखि बाकुसम्म’ पुग्दा भने मलाई पैदल यात्राको झल्को दिने त्यही बलैगाउँको यात्रामात्रै रह्यो । अरु सबै यात्रा उनले चारपाङ्ग्रेदेखि चिलगाडीमा गरेका रहेछन् । पढ्दा मलाई पनि थकाई लागेन ।
कहिलेसम्म हामी गास, वास, कपास कमाउन र सास जोगाउन आफ्नो देशको सीमा नाघेर भारत पुग्नुपर्ने हो थाहा छैन । यो कति बाध्यता कति सुविधाको खोजी थाहा छैन । सागर दाइ यो नियात्रासँग्रहमा १३ ठाउँ पुग्दा तीमध्ये ७ ठाउँ त भारतकै पुग्नभएछ । भारत हामीलाई घुम्न निस्कँदा सजिलो ठाउँ त हो नै त्यहाँ एकपटक पुग्नैपर्ने ठाउँ पनि छन् । तर दुईपटक त उहाँ उपचारकै लागि भारतका दुई शहर पुग्नुभएछ ।
‘स्वर्ग विमान’ कति भयानक छ । लेखककै शब्दमा ‘मृत्युको अन्तिम स्टेशन’ अस्पतालहरु कति भयानक छन् । लासमा पनि कमिसनको जालो छ । लेखक भन्छन्, ‘एउटा लासबाट कमिसन लिएर अर्को जिउँदो लास बचेको देख्दा कताकता मन काटिएरै आयो ।’ नियात्राकार जहाँ-जहाँ पुग्छन्, त्यहाँको भव्यता र कुरुपता प्रष्ट भन्छन् । भलै कहीँ-कतै पुर्वाग्रही जस्तो लागेपनि । ‘जस्तो भारत सरकार त्यस्तै उनका नागरिक रहेछन् ।’- श्रावस्तीमा बुद्धको प्रभाव, पृष्ठ ४१ ।
जहाँ-जहाँ लेखक पुगेका छन् त्यहाँको छोटो परिचय र इतिहास प्रसँग मिलाएर झ्याउ नलाग्नेगरी भन्छन् । दृष्यप्रतिको आफ्नो अनुभूति उल्लेख गर्न छुटाउँदैनन् । भाषा सरस छ । प्रसँग मिल्नेगरी उद्धरण र रचनाअंशको प्रयोग मीठो लाग्यो ।
हुन त नियात्रामा यात्रावणर्नकै बाहुल्यता रहला । तर ‘श्रावस्तीमा बुद्धको प्रभाव’ मा लेखक बढी यात्रामै अलमलिएजस्तो लाग्यो । जसरी ॅराधा खोज्दै वृन्दावनमा’ ठ्याक्कै गन्तव्यमा पुगेको अनुभूति श्रावस्तीमा भएन ।
अलिगढ विश्वविद्यालयका प्रोफेसर सिराजको कथाले मन पोल्यो । उक्त विश्वविद्यायको नाम सुनेपनि नियात्राबाट थप चाख जाग्यो । विश्वविद्यालयको भव्यताबारे जान्न पाइयो ।
दिल्ली यात्राको नियात्रालाई नियात्राकारले साँच्चै रेलको संसारकै यात्रा बनाइदिएका छन् । अहिलेसम्म रेल नचढेको मलाई कुनैबेला भारतको यात्रा रेलमा गर्दा उक्त नियात्रा मेरो पूर्वसतर्कताको लागि काम लाग्ने छ । बम्मईबाट फर्किनेहरुले सुनाउने रेलमा लुटिएका र दुव्र्यवहार भोग्नुपरेका कथा सुन्दा उकुसमुकुस हुने मलाई नियात्राकारमाथि भएको दुव्र्यवहारले थप दुःखी बनायो । नियात्राकारकै अघि एक युवतीमाथि दुव्र्यवहार भयो ।
त्यस अवस्थामा पनि चुपचाप बसिरहने नियात्राकारसहित रेलमा खुट्टै राख्न नमिल्नेगरी खचाखच भरिएका मानिसहरुको लाचारी पढ्दा त्यो यात्रा त्यतिसम्म खतरनाक रहेछ ? भन्ने मैले अहिले पनि सोचिरहेछु । भारतका दैनिक सोही रेलबाट यात्रा गर्ने आम आमा दिदीबहिनीहरुको दिनचर्या कति भयानक होला ? यो प्रश्न मेरो मनमा अनुत्तरित नै रहिरह्यो । खासमा ‘रेलको संसारमा’ र ‘मैले देखेको र बुझेको चीन’ले मलाई धेरैबेरसम्म पीडा दिए ।
त्यति विशाल र भव्य पर्खालमुनी लाशै लाश छन् भन्ने पढ्दा पनि आङ सिरिङ्ग भयो । मेङको अद्वितीय प्रेम समर्पणबारे पढ्दा उनी कुनै महान् साहित्यिक प्रेम पात्रभन्दा कम लागिनन् । ॅराधा खोज्दै वृन्दावनमा’ जाँदा बसमा नियात्राकारलाई पिसाबले सताएको जस्तै पीडा मलाई हरेक पटक बस यात्रामा हुने गर्दछ । उक्त नियात्रामा भने वृन्दावनको सजीव चित्र छ । मैले पनि सोचेको थिएँ, वृन्दावन अहिले पनि पूरै वन क्षेत्र नै होला ।
भारतबाहेकका देशमा यात्रा गर्दाका अध्यागमनका झन्झट र त्यहाँको चकाचौँधले मलाइजस्तै पाठकलाई मोहित गर्न सक्षम छन् भन्ने लाग्छ । पहिलो पटक बोइङ चढ्दाको अनुभव, समुद्रसँगको साक्षात्कार मेरो अनुभूतिमा छैनन् । तर, गैरेका नियात्राले मलाई अलिअलि भएपनि त्यसको अनुभूति गराए ।
आमालाई अस्पतालमा छोडेर थाइल्याण्ड हिडेका नियात्राकार त्यहाँको यौनजीवन लजाई-लजाई भन्छन् । हाम्रो जस्तो समाजका जोसुकैलाई च्वस्स बिझ्नेखालको स्वागत अभिवादन ‘सिटी अफ प्रोस्टिच्युसनमा स्वागत छ’ ले मलाई चकित बनायो । कसरी एउटा देशले अभिभवादन नै हाम्रो समाजले पूणर्तया बन्देज गर्ने वृत्तिलाई लिएर बनायो होला ? यसको जवाफ पनि सोही नियात्रामा छ ।
कहिलेकाहीँ युट्युब, टिकटक र फेसबुकमा देखापर्ने थाइल्याण्डमा शरीर भोग्ने ग्राहक कुर्दै गरेका महिलाहरुका दृष्यहरु पत्यार लागेपनि होइन होला भन्ने भित्र कतै लागिरहन्थ्यो । तर हो रहेछ । बाली द्विपमा हिन्दु सभ्याताको भव्यता, शासकअनुसार धर्म बलिरहने शहर इस्तानबुल, पछिल्लो युगको एक अद्भुत मानव निर्मित संरचना बुर्ज खलिफाका यात्रा संस्मरणहरु चाखलाग्दा र जानकारीमूलक लागे ।
तीनवटाबाहेक अरु सबै नियात्रामा नियात्राकार एक असली यायावर बनेका छन्, जसको यात्राको कुनै उदेश्य छैन । भएपनि गौण छ । उनी यात्रा गर्छन्, हेर्छन् र बुझ्छन् हरेक ठाउँलाई आफ्नै नीजि दृष्टिकोणमा । उनी निसर्त यात्रामा हिडेका छन् ।
व्यापारको शिलशिलामा बाल्यकालमा भारतको सहर पुगेको देखि तेल उत्खननका कारण चर्चामा रहेको अजरबैजानको बाकुसम्मको यात्रामा गएर अन्त्य भएको कृति नियात्रा विधाका लागि एक ग्रहणीय र पाठकका लागि संग्रहणीय पुस्तक हो । यो एकपटक पढेपछि काम नलाग्ने पुस्तक होइन ।
यद्धपि पुस्तक पढ्दै गर्दा मैले चाखेका खानाको स्वादबाहेक अरु खाना को स्वाद चाख्न पाइन । नियात्राकार अलीगढमा गएका बेला कचौडी खाने निणर्य गरेको मात्रै भन्छन्, कचौडी खाए नखाएको भन्दैनन् । खाएको भए त स्वाद पनि भन्नुपर्ने । किनभने नेपालगन्जको भन्दा अलिगढको कचौडी राम्रो भनेर उनका सहयात्रीले भनेका थिए । चीन र थाइल्याण्डमा खानाका अनेक आश्चर्यलाग्दा परिकारहरुको चर्चा गर्छन् । तर ती आश्चर्यलाग्दा परिकार चाख्ने पर्यत्न गरेका हुन् कि नगरेका भन्दैनन् । १३ ठाउँ घुम्दा उनले खाएका खानाको परिकारको सूचीमा पनि कम्तिमा १३ वटा त होलान् । त्यति त भनिदिए हुने भन्ने मलाई लागेको छ । किनकी नयाँ ठाउँमा यात्राको एक हिस्सा खाना पनि त हो नि हैन ?
अर्को मैले यी नियात्रामा मानिसको अनुहार, हाउभाउ र पहिरनमा भिन्नताको कुरा गरेको पाइन । खासमा यी नियात्रामा दृष्य त छन् तर ती दृष्यमा मानिसहरु कहीँकहीबाहेक ॅब्लर’ भएका हुन् कि जस्तो लागिरह्यो । यात्रा मान्छेसँग भेट्ने र संवाद गर्ने अवसर पनि त हो । ती संवाद र त्यहीँका मान्छेको दृष्टिकोण ॅमिस’ भएको जस्तो लाग्यो । भाँडा माझिरहेको एक नेपाली युवकसँग कुरा गर्छुँ भन्ने सोचेर पनि नगरेको पढ्दा खल्लो लाग्यो ।
१४ ठाउँ घुमेको नियात्रा लेखेर यति सुन्दर पुस्तकाकारमा आउँदा नेपालको एक ठाउँको पनि नियात्रा नआउँदा पनि खल्लो लाग्यो । एउटा कुनामा भएपनि यस पुस्तकमा नेपालको कुनै एक ठाउँको वणर्न सुन्न पाउने मेरो अपेक्षा अधुरो छ भन्ने नियात्राकारलाई अनुरोध छ ।
‘मुस्लिम समुदायका बालबच्चा केही न केही काममा व्यस्त देखिन्थे,’-पृष्ठ ४४ । नियात्राकारले ती बालबालिका मुस्लिम नै हुन् भन्ने कसरी थाहा पाए होलान् ?
‘त्यतिबेला तीनदेखि साढे तीन करोड खर्च लागेको थियो रे ! आजको मूल्यमा त्यो रकमले सिंगो भारतलाई रेल्वे लाइनले जोड्न सकिन्छ,’-पृष्ठ ६८ । यहाँ तथ्य गलत पर्यो कि भन्न खोजेको अर्कै हो ?
बाँकी त भनिहाँले, यो पुस्तक एकपटक पढिसकेपछि काम नलाग्ने पुस्तक होइन ।