प्रदेशस्तरीय प्रदर्शनीमा सहभागी उद्यमी भन्छन्, ‘सोचेभन्दा राम्रो व्यापार भएको छ’
Sunday, January 9th, 2022, 6:00 am
Kalpristha
–विक्रम बुढाक्षेत्री
नेपालगन्ज उप-महानगरपालिका-१२, विपी चोकस्थित सुनाखरी रेष्टुरेण्टमा हाल महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी भइरहेको छ । पुस २२ गतेदेखि सुरु भएको उक्त लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी पुस २६ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा प्रदेशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्दै आफूले उत्पादन गरेका वस्तु प्रदर्शनी गर्ने र बिक्री गर्ने उद्यामीको संख्या उल्लेखीय छ ।
शनिबार पनि प्रदर्शनीमा मानिसहरुको भिड देख्न सकिन्थ्यो । प्रदर्शनीमा मानिसहरुले अवलोकन गर्नेभन्दा सामान बढी खरिद गरिरहेको देख्न सकिन्थ्यो । सो दृष्यले प्रदर्शनीमा राखिएका वस्तुहरु बिक्री भई रहेको छ भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो ।
प्रदर्शनीमा प्युठानदेखि आएकी चित्राकली बुढामगर पनि सामान बिक्री गर्नमै ब्यस्त देखिन्थिन् । उनले प्रदर्शनीमा राख्नका लागि सिस्नोको प्रजाती अल्लोबाट बनाएका वस्तुहरु प्रशस्त ल्याएकी छिन् । उनको स्टलमा मानिसले लगाउने सबै प्रकारका कपडाहरु उपलब्ध छ । चित्रकलीले कालपृष्ठसँग कुरा गर्दै भनिन्, ‘सोचेभन्दा राम्रो व्यापार भएको छ ।’
बुढामगर प्रदर्शनीले महिला उद्यमीको लागि राम्रो व्यवस्था गरेको बताउँदै भन्छिन्, ‘हामीलाई सामान बिक्री नहोला भन्ने चिन्ता नै छैन । किनकी नेपालगन्जको कोसेली घरले यसको जिम्मा लिएको छ । तर पनि उहाँहरुले हामीलाई बस्ने खाने र निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाउनु भएको छ । त्यसमा पनि व्यापार राम्रो भइरहेको छ ।’ बुढामगरले हाल प्रदर्शनीमा प्रतिदिन ३० हजार रुपैयाँको हाराहारीमा व्यापार गरिरहेको बताइन् ।
बुढामगरले अल्लोबाट कपडा बनाउने काम सुरु गरेको १७ वर्ष भई सकेको रहेछ । उनले भनिन्, ‘मैले २०५७ सालबाट अल्लोबाट धागो बनाउन सुरु गरेको हो । त्यसपछि २०६२ सालमा तालिम लिएर कपडा बनाउन सुरु गरे र २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग गरी गरेर काम सुरु गरेको हो ।’
बुढामगरको उद्योग हाल नौबहिनी गाउँपालिका-६, प्युठानमा रहेको छ । उनले उत्पादन गरेको कपडाहरु नेपाल र देश बाहिर पनि जाँदो रहेछ । ‘बढीजसो पोखरा, काठमाडौं, बुटवल जान्छ । नेपालभरी नै जान्छ भने पनि हुन्छ । विदेश पनि जान्छ । हामीले प्रत्यक्ष रुपमा नपठाएपनि अप्रत्यक्षरुपमा भने बाहिरपनि गईरहेको छ,’ उनले भनिन् ।
त्यस्तै प्रदर्शनीमा अल्लोबाटै बनेका कपडा दाङबाट ल्याएकी प्रेमकुमारी बुढा आफ्ना दुईजना सहकर्मीसँगको सहयोगले सामान बिक्री गरिरहेकी थिइन् । बुढासँगको कुरा पनि मुस्कुराहटबाटै सुरु भयो । उनीले पनि मुस्कुराएरै व्यापार राम्रो भएको बताइन् । उनले पनि प्रदर्शनीमा अल्लोबाट बनेका जुत्ता, कोट, टोपी, झोलालगायत सबै प्रकारका कपडा राखेकी थिइन् ।
बुढाले भनिन्, ‘सामान त राम्रो बिक्री भएको छ । हेरम २६ गतेसम्म कति बिक्री हुन्छ ।’
उनले दैनिक कति बिक्री भई रहेको छ भन्ने प्रश्नमा बुढाले भनिन्, ‘सुुरुको दिन २० हजारभन्दा बढीको बिक्री भएको थियो हिजो पनि ३५ हजार जतिको बिक्री भयो । अब आज शनिबार हो हेरम कति हुन्छ धेरैजना आउनु भएको छ । ४५ हजारसम्मको बिक्री हुन्छ कि ?’
बुढाले अल्लोबाट कपडा बनाउन सुरु गरेको २० वर्षजति भएको रहेछ । उनले सुरुमा आफू एक्लैले सुरु गरेको प्रेम नि.श.अल्लो (पुवा)धागो तथा तयारी पोशाक उद्योगले हाल अन्य महिलालाई पनि रोजगारी दिएको छ ।

प्रदर्शनीमा राखिएका स्टल
प्रदर्शनीमा कपडा बाहेक खाने वस्तुहरुको पनि कमी देखिएन । प्रदर्शनीमा सेल रोटीदेखि मःम, चटपटे, दालमोल, आलु चिप्सलगायतका वस्तुहरु देख्न सकिन्छ । आफ्नो बाउबाजेको पालादेखि नै चाकु र तथा तिलका लड्डु बनाउँदै आएका डब्लु कस्यप पनि सामान बिक्री गर्नमै व्यस्त थिए । आफ्नै ठेलामा भेली, तिलबाट बनेका लड्डु, चाकु, बदाम चाकु बिक्री गरिरहेका कस्यप दैनिक दुई हजारभन्दा बढीको व्यापार भएको बताउँछन् । उनले बजारमा दिनभरी ठेला घुमाएर बिक्री गर्नुभन्दा प्रदर्शनीमा बिक्री गर्न ठीक रहेको तर्क गरे ।
प्रदर्शनीमा नेपलगन्ज उप-महानगरपालिका-२० मा फूल उत्पादन गर्दै आएकी महिला उद्यमी बिन्दु चर्तीमगर पनि फूल तथा फूलबाट बनेका सामानहरु प्रदर्शनीमा व्यस्त देखिन्थिन । मगरले आफूमात्र नभएर प्रदर्शनीले प्रदेशमा रहेका महिलाहरुको व्यापारलाई उत्थान गरेको बताइन् ।
ॅयो प्रदर्शनीले खासगरी हाम्रो समाजमा लुकेर रेहका महिलाहरुको प्रतिभालाई बाहिर ल्याउन सहयोग गरेको छ । त्यस्तै महिला दिदी बहिनीहरुले उत्पादन गरेको वस्तुहरुलाई बिक्री गर्न धेरै ठूलो सहयोग गरको छ,’ मगरले बताइन् ।
उक्त प्रदर्शनी महिला उद्यमी संघ नेपाल(विन)बाँकेको आयोजना संचालन भएको हो । महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहेको बताइन् । शर्माले आफूहरुले सोचेभन्दा राम्रो प्रदर्शनी भइरहेको बताउँछिन् ।
शर्माले बताइन्, ‘हामीले सुरुमा ५० वटामात्र स्टल राखेका थियो । तर अहिले ६० भन्दा बढी स्टल भइसकेको छ । सबैको व्यापार पनि राम्रो भई रहेको छ । हाम्रो उद्देश्य महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने नै हो ।’
महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको बताइन् । उनले भनिन्, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था पनि गरेका छौं ।’
महिला उद्यमी संघ, बाँकेकी पूर्वअध्यक्ष अन्जु गुरुङ मुस्कुराउँदै धेरै खुसी भएको बताउँछिन् । उनले भनिन्, ‘हामीले सूरुका वर्षमा गरेको पहिलो प्रदर्शनीमा ३० वटा जति स्टल हुन्थ्यो । अहिलो यत्रो स्टल देख्दा खुसी लाग्छ । पहिलो हामीले बाँकेका भन्दा बाहिरका महिलाहरुलाई समेटन सकेका थिएनाँै । अहिले जिल्लाका भन्दा बाहिरका महिला दिदीबहिनीहरुको संख्या धेरै देख्छु ।’

प्रदर्शनीमा आफ्नो उद्यामी अनुभव बताउँदै एक महिला