अन्ततः एमाले बाँकेको अध्यक्षमा कक्षपति निर्विरोध
Sunday, January 9th, 2022, 5:02 pm
Kalpristha
नेकपा एमाले बाँकेको अध्यक्षमा किस्मत कक्षपति निर्विरोध निर्वाचित भएका छन् । जारी जिल्ला अधिवेशनमा नेतृत्व छान्न निर्वाचन भन्दा सर्वसम्मतिमा जोड गरिएको थियो । केन्द्रीय महाधिवेशनमा अपनाइएको प्रकृयाको झल्को दिनेगरी अध्यक्ष मण्डलले किस्मत कुमार कक्षपतिको अध्यक्षतामा १ सय २० सदस्यीय कमिटि प्रस्ताव गरेको थियो । तर, उत्तः प्रस्तावलाई आकांक्षीहरुले स्वीकार गरेनन् र निरक गुरुङ एवं अशोक कर्माचार्यले उम्मेदवारी दिए । मुख्य पदहरुसहित सदस्यसम्ममै आकांक्षीहरुले उम्मेदवारी दिए । केन्द्रीय महाधिवेशनजस्तै महाधिवेशनको कार्यतालिका पालना भएन ।
निर्वाचन समितिले २३ गते जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार काम भएको भए २४ गते नै निर्वाचन भइसक्ने थियो । तर २४ गते पुनः संशोधित कार्यतालिका प्रकाशित गरी २५ गते बिहान ९ बजेदेखि मतदान सुरु गर्ने निर्धारण गरियो । निर्वाचन समितिले आफ्नो काम गरिरहे पनि नेताहरु त्यसअनुसार अघि बढेनन् । उनीहरुको जोड पार्टीभित्र सहमतिबाटै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा रह्यो ।
अध्यक्ष मण्डलमा रहेका ५ जना केन्द्रिय सदस्यहरु जिल्ला ईन्चार्ज सूर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्माले आकांक्षीहरुलाई मण्डलको प्रस्तावमा सहमत हुन शनिबार रातभर आइतबार दिनभर पर्यत्न गरे । अन्तमा अध्यक्षमा कक्षपतिलाई समर्थन गर्न उम्मेदवारी दिएका गुरुङ र कर्माचार्य सहमत भएका बताइएको छ ।