चार वर्षदेखि बाल अस्पताल बन्द
Sunday, January 9th, 2022, 5:06 pm
Kalpristha
घोराही उप–महानगरपालिका–१६ मा रहेको बाल अस्पताल संचालनमा आउन सकेको छैन । २०६६ सालमा संचालन हुने भनिएता पनि वर्षदिन नपुग्दै अस्पताल बन्द भएको थियो ।
अस्पताल बन्द भएपछि अस्थायी प्रहरीचौकीले उक्त बाल अस्पतालको भवनलाई आवासको रुपमा प्रयोग गरेको थियो । अस्पतालको भवनमा प्रहरी झण्डै ६ वर्ष बस्यो । तर २०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० श्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइएको थियो । तर ६ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो ।
अहिले चार वर्षयता अस्पताल पूर्णरुपमा बन्द रहेको छ ।
घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए । भारतीय दूतावासको सहयोगमा २०६६ सालमा ६६ लाख रुपैयाँ खर्च गरेर अस्पताल निर्माण गरिएको थियो । झण्डै ११ कट्ठा जग्गामा रहेको दुई तले अस्पताल भवनको मुख्य गेटमा अहिले ताला लागेको छ । अस्पताल सञ्चालन नहुँदा लाखौंका मेसिन तथा स्वास्थ्य उपकरणहरुमा खिया लागेको छ । अस्पताल परिसर झारपातले ढाकिएको छ ।
अस्पताल व्यवस्थापन समितिले आर्थिक अभावको कारण अस्पताल बन्द गर्नुपरेको बताउँदै आएको छ । आवश्यक पूर्वाधार भए पनि अस्पताल सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत नभएकाले बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका सचिव भोला डाँगीले बताए । यद्यपि अस्पताल सञ्चालनका लागि भने प्रयास भइरहेको सचिव डाँगीको बताउँछन् ।
आन्तरीक स्रोतबाट अस्पताल सञ्चालन गर्न नसकिने भएकाले अब स्थानीय तह मातहतमा यसलाई सञ्चालन गर्नुपर्ने अस्पताल व्यवस्थापन समितिको भनाइ छ ।
त्यस्तै हाल अस्पतालको विद्युत् पनि काटिएको छ । अस्पतालको भवनमा झण्डै सात वर्ष प्रहरी बस्दा झण्डै एक लाख २५ हजार रुपैयाँ बराबरको विद्युत् महसुल तिर्नुपर्ने थियो । तर प्रहरीले महसुल नबुझाएपछि विद्युत् प्राधिकरणको कार्यालयले अस्पतालमा विद्युत काटिदिएको हो ।
घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीले संचालक समितिले उप–महानगरपालिकालाई अस्पतालको सबै सम्पत्ति हस्तान्तरण गरेमा अस्पताल संचालन गर्न आफूहरु तयार रहेको बताउँछन् ।