कोरोनाका कारण माघ १५ गतेसम्म विद्यालय बन्द
Sunday, January 9th, 2022, 6:55 pm
Kalpristha
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निणर्य गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निणर्य गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निणर्य कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।
यसैगरी सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।
होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निणर्य गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निणर् भएको छ ।