यथास्थितिमा निर्वाचनमा जादैनौँ : बास्तोला
Sunday, January 9th, 2022, 7:25 pm
Kalpristha
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले यथास्थितिमा आफ्नो पार्टी कुनैपनि निर्वाचनमा सहभागी नहुने बताएका छन् । जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर तय गरिने बताए ।
आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए । सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा उठेका कुनैपनि कुराको विषयमा जनमत संग्रहबाट निर्क्यौल गरिनुपर्ने बताए । तर, जनताले राजतन्त्र अन्त्य गरिसकेकाले त्यो माग नगर्ने विश्वास गरे । आगामी चुनावमा पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा आसन्न पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्ने बताए ।
पछिल्लो चरणमा नेपालमा अत्यन्तै ठूलो खतरा पैदा भएको बताउँदै नेता बास्तोलाले अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको जिकिर गरे । ‘एमसिसी एक्काइसौँ शताब्दीको इष्ट इन्डिया कम्पनी हो, नेपालको राष्ट्रलाई अमेरिकाको प्रान्तको रुपमा कब्जा गर्ने यो खालको षडयन्त्र एमसिसिमार्फत भइराखेको छ,’ पार्टीका विदेश विभाग इन्चार्ज समेत रहेका बास्तोलाले भने, ‘एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ ।’ नेपाल नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान एमसिसीमा राखिएको उनको दाबी छ ।
एमसिसी र राष्ट्रियताको मुद्दालाई जोडदार रुपले उठाएका कारण आफ्नो पार्टीको बदनाम गर्नका लागि चन्दा आतंक, कब्जा तथा अपहरणका घटनामा आफ्नो पार्टीलाई जोडर बदनाम गरिएको बास्तोलाको जिकिर छ ।