‘बिना धितोको ऋण दिन पनि धितो माग्छन् बैंक’
Monday, January 10th, 2022, 6:00 am
Kalpristha
उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गतका चार प्रतिशत ब्याजमा १५ लाखसम्म ऋण उपलब्ध गराउने गरेको छ । यो कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा महिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन् । कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरेको छ । त्यसमा महिलाले कर्जा लिएमा ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ । बाँकी चार प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ ।
तर उक्त ऋण लिन उद्योग व्यवसाय देखाएर मात्रै नहुने गरेको र अन्य धितो पनि माग्ने गरिएको उद्यमीहरुले बताएका छन् । आइतबार नेपालगन्जमा जारी महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदेशस्तरीय प्रदर्शनीमा भएको महिलाका लागि बैंक ऋणसम्बन्धि छलफलमा सहभागी उद्यमीहरुले सो कुरा बताएका हुन् । महिला उद्यमी संघ (विन)बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले भनिन्, ‘सहुलियतको ऋण लिन पनि महिलाहरुलाई समूह बनाउ, सानै भएपनि सम्पत्ति देखाउ भन्ने खालका अनेक झन्झटहरु व्यहोराइन्छ । सरकारले ब्याज अनुदानमा दिने ऋण पनि महिलाहरुले सहजरुपमा पाएका छैनन् ।’
छलफलमा सहभागीहरुले बैंकहरुले महिलाहरुलाई अहिलेपनि नपत्याउने गरेको गुनासो गरे । छलफलमा सहभागी कुमारी बैंक चिसापानी बाँके शाखाकी प्रबन्धक सोफिया थापाले बैंकले ऋण दिन केही न केही आधार माग्ने हुनाले उद्यमीहरुले पनि बैंकहरुको बाध्यतालाई बुझिदिनुपर्ने बताइन् । उनले सरकारले सहुलियत ऋणलाई सहजीकरण गर्नेतिर ध्यान दिनुपर्ने बताइन् ।
छलफलमा बोल्दै भेरी सहकारी वित्तीय संस्थाका व्यवस्थापक शोभा गुरुङले सानो कर्जा आवश्यक भएका महिलाहरुलाई सहयोग गर्न भेरी सहकारी साथमा रहेको जानकारी दिइन् । उनले सहकारीबाट ऋण लिनका लागि चाहिने प्रकृयाका बारेमा पनि प्रष्ट पारेकी थियन् । उक्त छलफलमा विन बाँकेकी पूर्व अध्यक्ष कुसुम बस्नेतले पनि उद्यमीहरुका समस्याबारे छलफलमा सहभागिता जनाएकी थिइन् । छलफलको सहजीकरण विन बाँकेकी महासचिव सुनिता पाण्डेले गरेकी थिइन् ।