बाँकेमा बाघ नियन्त्रणको प्रयास सुरु
Tuesday, January 11th, 2022, 5:25 pm
Kalpristha
बाँके राष्ट्रिय निकुञ्जमा बाघ नियन्त्रणको प्रयास सुरु भएको छ । चितवनबाट प्राविधिक टोली आइपुगेपछि मंगलबारबाट नरभक्षी बाघ नियन्त्रणको काम सुरु गरिएको हो ।
चितवनबाट मुख्यगरी भेटनरी डाक्टर र सुटरसहित चारजनाको एक्सपर्ट टोली सोमबार बेलुका बाँके आइपुगेको हो ।
प्राविधिक टोलीले सबैभन्दा पहिले राप्ती गाउँपालिका–४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नम्बर ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा बाघको खोजी तथा पहिचान गर्ने काम सुरू गर्ने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । साथै त्यसबाहेक आसपासका सबै क्षेत्रमा बाघको खोजी हुनेछ ।
बाघ पहिचानका लागि क्यामेराको प्रयोगदेखि, चारो राख्ने जस्ता काम हुनेछ । त्यसरी बाघको पहिचान भएपछि मात्रै सुटरले बाघलाई डार्ट गर्नेछन् ।
दुई हात्तीसहित नेपाली सेनाको टोली, डिभिजन वन कार्यालयको टोली, भेटनरी डाक्टरको टोली र सार्प सुटरको टोली जंगलमा खटिएको छ ।
गत पुस २२ र २४ गते दुई दिनको अन्तरमा बाघले त्यसक्षेत्रमा घाँस, दाउराका लागि गएका दुई महिलाको ज्यान लिएको थियो । भदौ यता मात्रै राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बाघको आक्रमणबाट चार जनाको ज्यान गएको छ । अन्य केहीलाई बाघले आक्रमण गरी घाइतेसमेत बनाएको थियो ।
गत भदौमा एक भारतीय नागरिकको बाघले ज्यान लिएपछि नियन्त्रणको प्रयास भएको थियो। त्यतिखेर क्यामेरामा चारवटा पाटेबाघ सँगै कैद भएका थिए ।
त्यतिखेर पनि पाडो जंगलमा राखेर गरिएको बाघ नियन्त्रणको प्रयास विफल भएको थियो ।