नेपालगन्जमा विविध कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइयो
Tuesday, January 11th, 2022, 6:36 pm
Kalpristha
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै मंगलवार ३०० औं पृथ्वी जयन्ती मनाइएको छ । नेपालगन्जमा शाहको सम्झनामा सडक र्यालीदेखि कवि गोष्ठीसम्म सम्पन्न भए ।
नेपालगन्जमा विभिन्न समूहहरुले पृथ्वीको सम्झनामा र्याली निकाले भने अन्तराष्ट्रिय साहित्य समाज लुम्बिनी प्रदेश कमिटीको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कवि गोष्ठी सम्पन्न गर्यो । अन्तराष्ट्रिय साहित्य समाज लुम्बिनी प्रदेशका संयोजक किरण आचार्यको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सेना, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी लगायतको आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा भिमबहादुर शाहीका ‘अमेरिका यात्रा’ यात्रा संस्मरण र तीनवठटा खण्डकाव्य संग्रहित पुस्तकहरुको विमोचन पनि गरिएको छ ।

कवि गोष्ठी
बर्दियाको गुलरियामा पृथ्वी नारायण शाहको पूणर् कदको पित्तलको शालिकको अनावरण गरिएको छ । प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराजले शालिकको अनावरण गरेको शालिक निर्माण समितिका सचिव कमलराज पौडेलले बताए ।
बर्दिया क्षेत्र नम्बर १ का संघीय सांसद संजयकुमार गौतमको पूर्वाधार विकास कोष मार्फत १० लाख रकमबाट शालिक निर्माण गरिएको पौडेलले बताए । पृथ्वीजयन्तीको अवसरमा नेपालगन्जको वीरेन्द्र चोकमा पनि कार्यक्रम गरिएको छ । यस्तै नेपालगन्ज उप-महानगरपालिकामा राप्रपापाबाट निर्वाचित वडाध्यक्ष रहेका वडाहरुमा मंगलबार सार्वजनिक विदा समेत दिएको थियो ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मेका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।