विज्ञानको स्वास्थ्य बिग्रदै, सहयोगको पर्खाईमा
Wednesday, January 12th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
करिब दुई दशकपछि परिवारसँग पुनर्मिलन भएका खोटाङका विज्ञान कोइरालाको स्वास्थ्य अवस्था नसुध्रिएको पाइएको छ । कोइरालाको मनोविज्ञानमा पहिलेभन्दा धेरै सुधार आएपनि शारीरिक स्वास्थ्य अवस्था बिग्रदै गएको विज्ञानको परिवारस्रोतले जनाएको छ ।
२०७७ साल चैत २४ गते हतास र विह्वल अवस्थामा नेपालगन्ज आइपुगेका विज्ञानको बयान कालपृष्ठ दैनिकमा प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएको थियो । त्यतिबेला उनले आफूलाई २० वर्षभन्दा बढी समय कतै बन्धक बनाएर राखिएको, यौन शोषण गरिएको र अन्तमा जंगलमा लगेर छोडिएको बताएका थिए । उनको शरीरमा घाउका दाग र चोटहरु थिए ।
उक्त समाचार प्रकाशित भएपछि सामाजिक सन्जाल हुँदै उनको परिवार सम्पर्कमा आएको थियो । विज्ञानका भाइ सुवास हाल उनीहरु बसोबास गरिरहेको उदयपुरबाट नेपालगन्ज आएर २० वर्षअघि हराएका आफ्ना दाइलाई लगेर गएका थिए । त्यतिबेला केही दिन नेपालगन्जस्थित नीलसागर सेवाश्रमले विज्ञानलाई आश्रयसहित आवश्यक स्वास्थ्योपचारको व्यवस्था गरेको थियो । जाँचमा उनको पित्तथैली नरहेको फेला परेको थियो ।
अहिले सोही पित्तथैली नभएका कारण विज्ञानको स्वास्थ्यमा अनेक समस्या देखा परिरहेका पाइएको छ । विज्ञानले टेलिफोनमा भने, ‘हरेक दुई दिनमा केही न केही समस्या आइरहन्छ । डाक्टरकहाँ धाउँदा-धाउँदा हैरान भइसकेको छु ।’ टेलिफोन कुराकानीमा विज्ञान पहिलेभन्दा केही फरासिला बनेका थिए । यद्धपि उनले अहिलेपनि आफू एउटा कोठामा बन्धक बनेको र आफूमाथि गरिएको शोषणबाहेक थप सम्झन नसकेको दोहोर्याउँछन् ।
विज्ञानका भाइ सुवासका अनुसार विज्ञानलाई उनका आफन्त र समाचार थाहा पाउने देशविदेशका मनकारी व्यक्तिबाट गरी करिब ९० हजारजति रकम सहयोग पनि प्राप्त भएको थियो । उक्त रकम विभिन्न ठाउँमा डाक्टरलाई देखाउँदैमा सकिएको विज्ञानले बताए । अहिले पनि आफूलाई टाउको दुख्ने, पोल्ने, खुट्टा सहज तरिकाले चलाउन नमिल्ने गरेको विज्ञानले बताए । डाक्टरहरुले फियो नहुँदा देखिने रोगप्रतिरोधात्मक क्षमताको कमीका कारण विभिन्न स्वास्थ्य समस्या देखिरहने बताएका उनको भनाइ छ ।
उनको पेटमा माथिदेखि तलसम्म चिरिएको दाग छ । तर उनको फियोबाहेक अन्य अंगहरु सुरक्षित छन् । फियोमात्रै निकालिनुको कारण अनावश्यक दुःख दिन थालेपछि चिकित्सकहरुले नै निकालिदिएको हुनसक्ने नेपालगन्जमा उनको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरुले बताएका थिए ।
अहिले विज्ञान आफ्नो ठूली आमाका छोराहरुसँग काठमाडौंमा बसिरहेका छन् । ‘केही दिन घुमघाम गरौँ र पत्रकारहरुलाई पनि भेटौँ भनेर काठामाडौं आएको हुँ । तर पत्रकारहरुको नम्बर अहिलेसम्म पाउन सकेको छैन,’ विज्ञानले कालपृष्ठसँग भने । उनले अब कसैको हसयोगबिना थप उपचार गर्न सक्ने अवस्था नभएको बताए । ‘हामी आफैले उपचार गर्नसक्ने अवस्था छैन । कसैबाट सहयोग मिलेमा मात्रै गर्न सकिने अवस्था छ,’ सुवासले भने ।
सामान्य ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका सुवासले लकडाउनपछि रोजगारी पनि गुमाएका थिए । अहिले काठमाडौं नजिकै काभ्रेको खुर्कोटमा एक होटलमा काम गरिरहेको सुवासले बताए । आम्दानीले बुढी आमा, श्रीमति र दाइको लालनपालन गर्नु उनका लागि चुनौतिपूणर् नै छ ।
प्रहरीले गरेन अनुसन्धान
२० वर्षअघि हराएका दाइ भेटिएको खबर सुनेर नेपालगन्ज आएका सुवास कोइरालाले विज्ञानको तर्फबाट बाँके प्रहरीमा उनलाई अपहरण, शरीर बन्धक र यौन शोषण गरिएको व्यहोरासहित आवश्यक अनुसन्धानका लागि बाँके प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले विज्ञानसँग पनि प्रारम्भिक सोधपुछ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी विदाई गरिएका विज्ञानको खोजीका लागि भने बाँके प्रहरीले त्यसपछि कुनै तदारुकता देखाएन । विज्ञान र उनका भाइ सुवासले अहिलेसम्म प्रहरीबाट त्यसपछि एकपटक पनि सम्पर्क नभएको बताए ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी उक्त जाहेरीबारे अहिलेसम्म आफूलाई जानकारी नभएको बताउँछन् । असारमा बाँके सरुवा भइ आएका अधिकारीसम्म उक्त मुद्धाको फाइल नै नपुगेको पाइएको छ । त्यसभन्दा अघि पनि प्रहरीले विज्ञानको जाहेरीमाथि अनुसन्धानमा समय दिएन । उनको जाहेरी अहिलेपनि फाइलमूनि च्यापिएर बसेको छ ।
विज्ञानको झोलामा फेला परेका फोटोहरुमा भारतको बैंलोरको फोटो स्टुडियोको ठेगाना थियो । त्यही प्रमाणलाई पनि पछ्याएको भए प्रहरीले केही तथ्य फेला पार्न सक्ने थियो ।
विज्ञान आफूमाथि भएकोजस्तो अन्याय अरुलाई पनि हुनसक्ने भएकोले दोषीहरुको खोजी गरिनुपर्ने बताउँछन् । ‘मलाई जस्तै अहिले अरु कसैलाई थुनेका छन् कि । उनीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ । तर पुलिसले हामीलाई वास्ता नै गर्दैन,’ उनले भने ।
यद्धपि एसपी अधिकारी उक्त जाहेरीबारे भएको अनुसन्धानबारे जानकारी लिने र थप कारबाही अघि बढाइने आश्वासन दिएका छन् ।