कोहलपुरमा बनेन ल्याण्डफिल साइट : फोहोर व्यवस्थापनको समस्या ज्युँ का त्युँ
Monday, January 17th, 2022, 1:58 pm
Kalpristha
–वीरेन्द्र जैसी
कोहलपुर नगरपालिकाले आफ्नो गौरवको आयोजना भनेर नीति तथा कार्यक्रममा समावेश गरेको ल्याण्डफिल साईट निर्माणमा असफल भएको छ । ल्याण्डफिल साइटको डिपिआर मात्रै तयार भएको नगरपालिकाले जनाएको छ । ल्याण्डफिल साइटका लागि नगरपालिकाले जमिनको जोहो गर्न नसकेपछि योजना अघि बढ्न नसकेको दाबी गरिएको छ ।
२०७६-७७ सालमा ल्याण्डफिल साइट र दिशाजन्य लेदो व्यवस्थापनका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरियो । तर खर्च हुन सकेन । ल्याण्डफिल साइट बनाउने योजनाबाट डाइभर्ट भएर नगरपालिकाले २०७७-७८ मा फोहोरमैला प्रशोधन केन्द्र नामक योजनामा एउटा निजि संस्थासँग सहकार्य गर्नेगरी दुई करोड रुपैयाँ छुट्यायो ।
नगरपालिकाले सुरुमा सरस्वती सामुदायिक वनमा मासिक २० हजार रुपैयाँ तिरेर फोहोर फाल्ने गर्दै आएको थियो । तर सामुदायिक वनले फोहोरमैला फाल्ने ठाउँ उपलब्ध गराउन नमान्ने अवस्था आएपछि जटायु रिसाइकलर्स प्रालि नामक संस्थासँग सहकार्य गरेर फोहोरमैला व्यवस्थापन गरिरहेको नगरपालिकाले जनाएको छ ।
फोहोर संकलन गरेर त्यसलाई पुनः उपयोगी वस्तुमा बदल्ने योजनासहित नगरपालिकाले करिब दुई करोड खर्चिने जनाएको छ । केही मेसिनको जडान, टहरा निर्माण र फोहोर व्यवस्थापनस्थलसम्म जानका लागि बाटो निर्माण नगरपालिकाले गरेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए । जटायुसँग २०७७ साउन १ गतेदेखि करिब १५ वर्षको लागि सम्झौता गरिएको छ ।
उक्त योजनाको मुख्य ध्येय फोहोरलाई जम्मा गर्नेभन्दा फाहोर अरु कुनै उपयोगी वस्तुमा रुपान्तरण गर्ने रहेको छ । जुन आफैंमा चुनौतिपूणर् छ । त्यसरी फोहोर उपयोगी वस्तुमा रुपान्तरण भएको उदाहरण नेपालगन्ज उप-महनगरपालिकाको ल्याण्डफिल साइटमा पनि छैन । अहिले जटायुलाई जम्मा भएको फोहोर कहाँ फाल्ने भन्ने संकट उत्पन्न भइसकेको छ । पहिले फोहोर फाल्ने ठाउँ दिएका सामुदायिक वनहरुले अहिले उक्त सुविधा दिन छाडिसकेका छन् ।
अर्कोतिर उक्त योजना एउटा मेसिनको अभावमा अघि बढ्न सकेको छैन । जटायुका संचालक सतिश केसीले भुक्तानीको समस्याले मेसिन आउन नसकेको बताए । जटायुले नगरपालिकाबाट अग्रिम भुक्तानी लिएर मेसिन ल्याउने भन्दै सोहीअनुसार प्रक्रिया अघि बढाइदिन नगरपालिकालाई अनुरोध गरिरहेको छ । तर नगरपालिकाले सामान आएपछि बिलअनुसार मात्रै भुक्तानी दिन मिल्ने निमय भएको भन्दै अग्रिम भुक्तानी दिन मानेको छैन । करिब ४५ लाख उक्त मेसिनलाई पर्ने केसीले बताए ।
‘नगरपालिकाले अग्रिम भुक्तानी दिन मानेको छैन । हामीसँग मेसिन खरिद गर्न रकम अभाव छ । त्यसकारण सबै काम पूरा भएर मेसिनकै कारण रिसाइकलको काम सुरु हुन सकेको छैन,’ केसीले भने ।
कोहलपुर-९ मा तीन बिघा क्षेत्रफलमा निर्माण भएको उक्त प्रशोधन केन्द्रमा अहिले नगरबाट उठेको फोहोर थुप्रिरहेको छ । कोहलपुरमा दैनिक १० देखि १२ टन फोहोर उत्सर्जन हुने गरेको छ ।
संचालक केसीले घरबाटै कुहिने र नकुहिने वस्तुहरु वर्गिकरण गरेर प्रशोधन केन्द्रसम्म लगिने र प्लाष्टिकलाई प्रशोधन गरिने, धातुताई पनि पुनः प्रयोगका लागि पठाइने र कुहिने फोहरबाट प्राङ्गारीक मल र बायो ग्याँस उत्पादन गरिने लक्ष्य रहेको जानकारी दिए । तर त्यो लक्ष्य आफंैमा महत्वाकांक्षी र चु्नौतिपूणर् छ ।
योजना संचालनमा आएपपछि पनि सबै फोहोर रिसाइकल हुन नसक्ने केसी बताउँछन् । त्यसका लागि पनि नगरपालिकाले डम्पिङ साइटको व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए । नगरपालिकाको ध्यान भने डम्पिङ साइटको खोजीमा छैन । फोहोर फाल्नै परे सामुदायिक जंगलमै फाल्ने नगरपालिकाको योजना छ । जुन वातावरणीय हिसाबले गलत छ ।
ल्याण्डफिल साइट वा डम्पिङ साइट नबन्नुको मुख्य कारण स्थानको अभाव नै भएको मेयर रावतको भनाइ छ । ‘सामुदायिक वनले जमिन दिन मानेनन् । त्यसैकारण योजना सफल हुन सकेन,’ रावतले भने । यद्धपि दिशाजन्य लेदो व्यवस्थापनका लागि भने वडा नम्बर १३ मा छिट्टै काम सुरु हुने मेयर रावतले बताएका छन् ।