पहिलोपटक गोला प्रथाबाट मुद्दा सुनुवाइ
Monday, January 17th, 2022, 7:35 pm
Kalpristha
सोमबारदेखि जिल्ला अदालत दाङमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ कार्य सुरु भएको छ ।
अदालतमा दर्ता भएका मुद्दाहरूको बाँडफाँट तथा सुनुवाइ प्रक्रियामा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाहीप्रति जनआस्था अभिवृद्धि गर्ने उद्देश्यसहित पहिलोपटक गोला प्रक्रियामार्फत् मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन् ।
अदालमा कार्यरत अन्य दुईजना न्यायाधीशहरू बिदामा भएकाले उपस्थित न्यायाधीश शर्मा अर्यालले साप्ताहिक पेसी सूचीमा चढेका तीनवटा मुद्दा समूहमध्ये गोला छानेर २ नम्बर फाँट समूहका मुद्दाको सुनुवाइ सुरू गरेको हो ।
गोला प्रक्रियाको थालनीले कुन न्यायाधीशको इजलासमा मुद्दा पर्छ वा मुद्दाको सुनुवाइ गर्दछ ? भन्ने पूर्वअनुमान लगाउन नसकिने हुँदा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाहीप्रति जनआस्था अभिवृद्धि गर्न सहज हुने सूचना अधिकारी शर्माले बताए ।
पछिल्लो समयमा न्याय सम्पादनमा पारदर्शी ल्याउन थालनी गरिएको गोला प्रथा प्रक्रिया साप्ताहिक पेसी सूचीमा नचढेका तर इजलास समक्ष सुनुवाइका लागि पेस हुनुपर्ने व्यवस्था गरिएको छ । जसमा मिलापत्र तथा मुद्दा फिर्ता अधिकृत वारेसनामाको प्रमाणित र विशेष प्रकृतिका निवेदनजस्ता निवेदनहरू सामान्यतया सुनुवाइको अघिल्लो दिन अपरान्ह ३ बजेसम्म दर्ता भएमा आउने दैनिक पेसी सूचीमा थप गरी सुनुवाइ हुनेछन् ।
त्यस्ता निवेदनबाहेक सोही दिन इजलासबाट निकासा दिनुपर्ने पक्राउ पुर्जीको अनुमति, जरूरी पक्राउ पुर्जीको स्वीकृति म्याद थप, कल डिटेल लगायतका विषयहरूमा पेसी सूचीको स्थगित नभएको सूचीको संकेतांकको क्रमानुसार अघिल्लो क्रममा रहेको समूह सूचीको सुनुवाइ गर्ने इजलासबाट निकासा दिइने छ ।