बढेन बाँकेका स्थानीय तहको आन्तरिक स्रोत
Tuesday, January 18th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७३-७४ को कुल बजेट २ अर्ब ४३ करोड ३८ लाख ३८ हजारको थियो । तर, उक्त आर्थिक वर्षमा मात्र १७ करोड ४१ लाख रुपैयाँको आन्तरिक आम्दानी हुने प्रक्षेपण गरियो । तर संकलन भयो १० करोड सात लाख मात्रै । कुल बजेटको ७ प्रतिशत मात्रै आन्तरिक आम्दानी हुने लक्ष्य राखिएकोमा चार प्रतिशत मात्रै संकलन भयो ।
यो बाँकेका सबै स्थानीय तहको नियति हो । आन्तरिक आम्दानीमा विभिन्न कर र जरिवाना तोक्ने र अन्तमा असुली नहुने कारणले स्थानीयह तहहरुको आन्तरिक आम्दानी न्युन छ । उनीहरु पहिलो पाँच वर्षे अवधिमा आर्थिक रुपले संघ र प्रदेश सरकारमै आश्रित हुनुपरेको छ ।
हरेक वर्षका नीति तथा कार्यक्रममा आन्तरिक आम्दानी बढाउने घोषणा गर्ने स्थानीय तहहरुले आम्दानीका दायरा बढाउनतिर ध्यान नदिँदा अहिलेका जनप्रतिनिधिहरुले आर्थिक रुपले परनिर्भर स्थानीय सरकार नै छोडेर जाँदैछन् । स्थानीय सरकारहरुले भएका सबै व्यापार व्यवसायलाई करको दायरामा ल्याउन सकेका छैनन् ।
नेपालगन्ज उप-महानगरपालिकाको पहिलो कार्यकाल २०७४-७४ सालमा १४ करोड ११ लाख आन्तरिक आम्दानी हुने अनुमान गरिएकोमा १२ करोड ११ लाख ३७ हजार मात्रै आम्दानी भयो । पहिलो कार्यकालको अन्तिम वर्ष चालु आर्थिक वर्षमा १४ करोड ७० हजार अनुमान गरिएको छ । जबकी यस वर्ष एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कुल बजेट छ । नपालगन्जको ब सुरुवातमा जति आम्दानी थियो त्यसभन्दा पनि कम आन्तरिक आम्दानी अन्तिम वर्षमा हुने अनुमान गरिएको छ ।
यसरी आम्दानी घट्नुमा कोरोना महामारीका कारण कर तथा राजस्व असुलीलाई नगरपालिकाले कारण मानेको छ ।
नेपालगन्ज भन्दा कोहलपुर नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ । तर कृषि तथा पशुजन्य वस्तुको कारोबारमा पनि कर लगाइएको छ । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ मा चार करोड ४४ लाख ७० हजार आम्दानी हुने अनुमान गरिएकोमा तीन करोड २७ लाख ६४ हजार मात्रै असुली भयो । त्यतिबेला कृषि र पशुजन्य वस्तु, व्यक्तिगत घटना र नाताप्रमाणितमा पनि कर लगाइएको थिएन । सेवामा पनि कर लगाइएपपछि कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानी गत वर्षको भन्दा झण्डै दोब्बर अर्थात २६ करोड २९ लाख ७५ हजार पुर्याएको छ । कोहलपुरको यसवर्षको बजेट एक अर्ब ३२ करोड ५३ लाख २८ हजार छ ।
आम्दानी बढाउनेमा कोहलपुरसँगै राप्तीसोनारी गाउँपालिका पनि छ । राप्ती सोनारीको आर्थिक वर्ष ७५-७५ मा तीन करोड पाँच लाख अनुमान रहेकोमा चालु आर्थिक वर्षमा १३ करोड ८६ लाख ३९ हजार अनुमान गरिएको छ ।
खजुरकाको आर्थिक वर्ष २०७६-७७ मा आन्तरिक आम्दानीको अनुमान ८ करोड ७८ लाख रहेकोमा चालु आर्थिक वर्षमा ७ करोड ६९ लाख छ । यसवर्षको बजेट ७५ करोड ९३ हजार ४० हजारको छ ।
अन्य स्थानीय तहको आन्तरिक आम्दानी न्युन नै छ । आन्तरिक आम्दानी नहुँदा स्थानीय जनप्रतिनिधिहरुले घोषणा गरेका ठूला योजनाको कार्यान्वयनमा परेको छ । ठूलो योजनाका लागि माथिल्ला सरकारकै मुख ताक्दा ताक्दै समय घर्किएको छ ।