वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति
Tuesday, January 18th, 2022, 12:44 pm
Kalpristha
सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ । मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।
अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी थिए ।
स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमशः २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिँदैछ ।
यसअघि निर्वाचन आयोगले यसै साता निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको थियो ।