अफगानिस्तानमा भूकम्प, २६ जनाको मृत्यु
Tuesday, January 18th, 2022, 12:49 pm
Kalpristha
अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ ।
बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो ।
भूकम्पको कारण घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
यसैबीच मंगलबार बिहानै भारतको अरुणाचल प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हालसम्म भूकम्पले क्षति पुर्याएको जानकारी प्राप्त नभएको भारतीय मिडियाहरुले लेखेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वोत्तर क्षेत्रमा सोमबार राति पनि ३० मिनेटको अन्तरालमा दुई पटक साना भूकम्पको धक्का महसुस गरिएको थियो ।