२०७९ को चाडपर्व सहितको पात्रो तयार, दशैं असोज १९ गते
Tuesday, January 18th, 2022, 4:30 pm
Kalpristha
आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पन्चांग निणर्यक समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।
त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।
आगामी वर्षमा विवाहका ५६ वटा लगन जुरेको छ । २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो । वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ ।
त्यस्तै, व्रतबन्धको लगन पनि कुनै महिना खाली छैन । वैशाखमा व्रतबन्धको दुईवटा लगन छ । त्यस्तै, जेठमा २, असारमा २, मंसिरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।
आगामी वर्षको लागि समितिले १४ वटा पात्रोलाई स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निणर्य गरिएको हो ।