बाँके प्रहरीको सक्रियता बढ्यो, ४ गुणा बढी राजस्व असुल
Tuesday, January 18th, 2022, 7:07 pm
Kalpristha
पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्ष ०७८-०७९ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा बाँके प्रहरीले राजस्व संकलनमा भारी बृद्धि गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७७-०७८ को पहिलो ६ महिनामा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँ राजस्व संकलन गरेको बाँके प्रहरीले यो आर्थिक वर्षमा भने झन्डै चार गुणाले बढाएको छ ।
प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारबाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खनन्, जुवातास कारबाही, काठ तस्करी कारबाहीलगायतबाट नौ करोड ३९ लाख, ९३ हजार आठ सय सात रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
त्यस्तै लागुऔषधसहित पक्राउ परेकाहरुबाट पाँच लाख ११ हजार नगद समेत उनीहरुबाट बरामद भएको उनले बताए ।
यस्तै यो अवधिमा एक सय ३९ जना फरार अभियुक्तलाई समेत पक्राउ गरिएको छ । उनीहरुबाट ३७ लाख ९९ सय हजार पाँच सय १४ रुपैयाँ जरिवाना असुल समेत गरिएको छ ।
बाँके प्रहरीले भन्सार चोरी पैठारी गरिएको ठूलो सामानसमेत बरामद गरेको छ । चार करोड ३६ लाख २६ हजार छ सय आठ रुपैयाँ बराबरको अवैध सामानसहित २७ जना तस्कर पक्राउ परेको एसपी श्यामकृष्ण अधिकारीको भनाइ छ । प्रहरीले यो अवधिमा पाँच सय ३७ मुद्दामा छ सय ७४ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारबाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खनन्, जुवातास कारबाही, काठ तस्करी कारबाहीलगायतबाट नौं करोड ३९ लाख, ९३ हजार आठ सय सात रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्षको यो अवधिमा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँमात्रै राजस्व संकलन भएको थियो ।
यस्तै प्रहरीले २० लाख बराबरको कुखुरा, चल्ला, मासु र माछासहित सात जनालाई पक्राउ गरी क्वारेन्टाइनमा बुझाएको छ भने बाघको छाला तीन, एक रेड पाण्डाको छाला, चार भालुको पित्त, हात्तीको दुईवटा दाँतसहित १० जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वन कार्यालयमा पठाएको जनाएको छ ।
यसैगरी ११ गोलिया चिरान काठसहित तीन जना, कटुवा पेस्तोल तीन, एक भरुवा बन्दुकसहित चारजना, जुवातास खेल्ने ६१ जनालाई पनि पक्राउ गरेको छ ।
वेश्यावृत्ति रोक्ने काममा पनि प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले ६ महिनामा १६ वटा होटलमा छानबिन गरी पाँच होटल सन्चालकसहित ११ जना महिला, ८ जना पुरुष गरी १९ जनालाई पनि पक्राउ गरेको छ । नियम पालना नगर्ने २० हजार पाँच सय ३५ सवारी साधनपनि कारबाहीमा परेका छन् ।
बाँके प्रहरीले यस अवधिमा विभिन्न प्रलोभनमा पारी नेपालबाट भारत तर्फ जादै गरेका ९२जना महिला र ३४ जना पुरूष मानिसलाई उद्धार गरी सम्बन्धित अभिवाभकको जिम्मा लगाई बुझाईएको, नेपालगंज बजार क्षेत्रका बिग्रेका सीसी क्यामेरा मर्मत कार्य सुरु गरिएको लगायतका काम पनि उल्लेख गरेको छ ।
बाँके प्रहरीले विगत ६ महिनामा संकलन गरेको राजस्व
१.भन्सार चोरी पैठारीबाटः- रु. ४,३६,२६,६०८ ।-
२.सुन तस्कर कारबाहीबाटः- रु ३,१३,९७,६७५।-
३.ट्राफिक कारबाहीबाटः- रु. १,१२,३४,५००।-
४.नदिजन्य पदार्थ उत्खनन्ः- रु ३,३०,०००।-
५.जुवातास कारबाहीबाटः- रु ९,५१,६१० ।-
६.काठ तस्कर कारबाहीबाटः-रु. ६,५३,९००।-
७.क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछामासुः- २०,००,०००।-
८.फरार अभियुक्तबाट असुल जरिवानाः- रु ३७,९९,५१४।-
चालू आ.व.को ६ महहिनामा संकलित जम्मा कुल राजस्वः- रु. ९,३९,९३,८०७।-
गत आ.ब.२०७७।०७८ को पहिलो ६ महिनामा संकलित कुल राजस्वः- रु. २,७५,३४,७३८।-