नेपालगन्जमा खुलेआम हुँदै लागुऔषध ओसारपसार
Wednesday, January 19th, 2022, 5:30 am
Kalpristha
पूर्वदेखि पश्चिमसम्मका कारोबारी आउँछन् नेपालगन्ज
–वीरेन्द्र जैसी
पुस २७ गते नेपालगंज उप-महानगरपालीका-२० राँझा चोकबाट चार लिटर लागुऔषध कोरेक्स एवं १०० पत्तामा रहेको १००० क्याप्सुल प्रतिबन्धित औषधी ट्रमाडोलसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ का ४२ वर्षीय विवेकशील मल्ल पक्राउ परे । उनले सुरुची खाने तेलको कार्टुनमा उक्त लागुऔषध बोकेर सडकमा उभिएका थिए । प्रहरीले शंका लागि शोधपुछ गर्दा समातिए ।
…….
त्यसभन्दा एकदिन अघि पुस २६ गते दिउसो तीन बजेको समयमा जमुनाह नाकाबाट पर्वत जलजला गाउँपालिका-६ का २८ वर्षीय विष्णु पुर्जा पुन र धादिङ निलकण्ठ नगरपालिका-१ का २० वर्षीय सुजन तामाङ नौ सय ९० ट्याबलेट नाईर्टोजेपाम लागूऔषधसहित पक्राउ परे ।
……
कात्तिक २५ गते साँझ ४ बजेको समयमा बाँके जमुनाहबाटै सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ बस्ने ३० वर्षीय बबिन शाही २ लिटर लागू औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याटसहित पक्राउ परे । उनले कालो प्लाष्टिक भित्र रहेको दुईवटा रियल जुसको बट्टाभित्र दुई लिटर लागू औषध कोरेक्स हालेर ल्याएका थिए ।
……..
पुस १५ गते जमुनाहबाट जुम्ला गोठिचौर गाउँपालिका-५ बस्ने वर्ष १९ का दिनेश नेपाली नाइट्रोभेट ५१ ट्याबलेट, ट्रामाडोल ४० ट्याबलेट र एनटी१० दशवटा ट्याबलेट सहित पक्राउ परे ।
…………
पुस १२ गते दिउसो १२ बजेको समयमा जमुनाहबाट कैलालीको लम्किचुवा-४ का २४ वर्षीय कणर् बोगटी फेनिरामाइल एभिल दुई सय १५ पिस, नाईट्रोभेट १० पिस, ट्रामाडोल दुर्य सय १० पिससहित पक्राउ परे । यस्तै पुस ६ गते साढे बजेको समयमा जमुनाहबाटै दार्चुला शैल्यशिखर नगरपालिका-९ का नरेन्द्र विष्ट तीन सय ट्याबलेट नाइट्रोभ्याट सहित पक्राउ परे ।
यी त केही उदाहरण मात्रै हुन् । नेपालगन्जमा पूर्वदेखि पश्चिमसम्मका व्यक्तिहरु आएर भारतीय बजारबाट लागुऔषध लिएर जान्छन् भन्ने प्रहरीको हात लागेका यी केही घटनाले नै पुष्टि गर्छ । भारतीय बजार रुपैडिहामा सहजरुपमा लागुऔषध पाइनु त्यसको मुख्य कारण रहेको छ । त्यसैकारण लागुऔषध ओसारपसारको ट्रान्जिट बनेको नेपालगन्जमा यसको नियन्त्रण झन् चुनौतिपूणर् हुँदै गएको छ । मुख्य नाका र सडकबाटै लागुऔष ओसारपसारकर्ताहरु पक्राउ पर्ने गरेका छन् ।
अधिवक्ता लोकबहादुर शाहले एक छलफल कार्यक्रममा भने, ‘मुख्य सडकबाटै लागुऔषधका कारोबारीहरु पक्राउ पर्छन् । उनीहरुको हिम्मत कसरी भयो कि यसरी खुलेआम कारोबार गर्न ?’
अधिवक्ता शाहको सिधा प्रश्न प्रहरी प्रशासनलाई थियो ।
खुकुलो सुरक्षा व्यवस्था वा कारोबारीसँगको मिलोमतोमा लागुऔष कारबार फस्टाएको आम जनताको बुझाइ छ । तर प्रहरी यो मान्न तयार छैन । बाँके प्रहरीले लागुऔषध कारोबारीप्रति आक्रामक बनेको देखाउनेगरी विगत ६ महिनामा उल्लेखनीय मात्रामा लागुऔषध ओसारपसारकर्तालाई पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ८८ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । उनीहरुको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म ८८ जना कारोबारी पक्राउ गरेको जानकारी दिएको हो ।
प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार ती व्यक्तीहरुबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेश, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, ६ लिटर कोरेक्स, २० ग्राम गाँजा र एक हजार चारसय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको छ । बरामद गरिएको लागु औषध मंगलबारै पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ ।
प्रहरी प्रवक्ता न्यौपानेले बाँके प्रहरीले लागुऔषधका कारोबारीलाई नै समातेर यसको ओसारपसार नियन्त्रणतर्फ महत्वपूणर् काम गरेको बताए । उनले नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा भारतमा लागुऔषधको कारोबार गर्नेहरुलाई ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गरिएकोले अब ओसारपसारमा कमी आउनेसमेत देखिएको बताए ।
तर, नेपाल प्रहरीले लागुऔषधका ठूला कारोबारीलाई अझै पक्राउ गर्न सकेको छैन । लागुऔषधमा पनि कारोबारीहरुको सन्जाल रहेको र त्यसलाई तोड्न ठूला कारोबारीलाई पक्राउ गर्नु आवश्यक रहेको लागुऔषधविरुद्धका अभियन्ताहरु बताउँछन् ।
सोमबार मात्रै बाँकेको बैजनाथ गाउँपालिका-३ का वडाध्यक्ष रामचरण थारु लागुऔषधको सेवन गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यसले पनि लागुऔषधको जालो सामान्यदेखि समाजको शक्तिशाली वर्गसम्मै छ भन्ने देखाएको छ ।