नेपालगन्जको ट्राफिक व्यवस्था किन यति भद्रगोल ?
Thursday, January 20th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्ज उपमहानगरपालिकामा सबैजसो मुख्य सडकहरु निर्माण र स्तारोन्नति भइसक्दा पनि सहज आवतजावतको वातावरण बन्न सकेको छैन । आवतजावत मात्रै होइन न्युनतम ट्राफिक व्यवस्थापनमा पनि सुधार आएको छैन ।
ई-रिक्साको अस्तव्यस्तता
नेपालगन्जमा सबैभन्दा बढी अस्तव्यस्त रहेको ई-रिक्सा व्यवस्थापनको काम भर्खरै सुरु भएको छ । तर उक्त काम पनि परिणामतिर उन्मुख छैन । दर्ता हुन आउन गरेको आह्वानमा एकदमै न्यून संख्यामा ई-रिक्साहर दर्ता गर्न ल्याइएको छ ।
ई-रिक्सा चालकहरु अस्तव्यस्त तरिकाले चलाउँछन् । अधिकांश रिक्सा चालकहरु एक हातले मात्रै रिक्सा चलाइरहेका देखिन्छन् । त्यही कारणले दुर्घटनाको जोखिम उच्च छ । अधिकांश दुर्घटनामा ई-रिक्सा नै मुख्य कारणमा देखिने गरेको ट्राफिक प्रहरी बताउँछ ।
ई-रिक्सा चालकहरुमा सडक नियमको जानकारी अभाव मुख्य कारुणका रुपमा देखिएको छ । ई-रिक्सा चालकहरुका लापरबाहीका विषयमा नारायण खनाल फेसबुकमा भन्छन्, ‘धेरै लापरबाहीले बाईकवालाको ऐक्सिडेन्ड हुने गरको छ । ई-रिक्सा चालक रोडमा चलाउँदा धेरै स्टाईल पारेर चलाउछन् । यता उता हेर्नुपर्ने हेर्दैनन् । एक हात ले चलाउछन् ।’
सौगात शाक्यको भनाइ छ, ‘इन्डिकेटर बल्दैन, ब्रेक लाग्दैन, हस्पिटलको इमरजेन्सिमा आउने ९५ प्रतिशत दुर्घटनाका केसहरु ई-रिक्सासँग सम्बन्धित हुन्छन् ।’
करिब १० हजारको आसपासमा संख्या अनुमान गरिएका ई-रिक्सामध्ये ९० प्रतिशतभन्दा बढी कतैपनि दर्ता छैनन् । चालकहरुसँग लाइसेन्स छैन ।
प्रतिक्षालयको सदुपयोग छैन
नेपालगन्जदेखि कोहलपुरसम्म करिब ३० वटा यात्रु प्रतिक्षालय र बस स्टपहरु बनाइएका छन् । तर ती प्रतिक्षलयहरुको सदुपयोग भएको छैन । बसहरु चोकमा नै रोकिने गरेका छन् । प्रतिक्षलयमा नरोकिँदा यात्रुहरु पनि मुख्य चोकमै जम्मा हुने गरेका छन् ।
लाखौँ रुपैयाँ खर्चेर बनाइएको प्रतिक्षालय र स्टपहरु कार्यान्यन गराउन ट्राफिक प्रहरी असफल भएको छ ।
बसपार्कको छैन सदुपयोग
अत्याधुनिक टर्मिनलसहितको बसपार्क भएपनि लामो दूरीका सवारी साधनहरु मुख्य सडकमा आएर रोकिन्छन् । केही समय पहिले पुष्पलाचोकमा रोकिने सवारीरसाधनहरु अहिले कारकाँदोमा प्रहरी तालिम केन्द्रअघि रोकिन्छन् ।
ट्राफिक प्रहरीले कहिलेकाहीँ लखेटेजस्तो गर्छ । तर, देखाउनका लागि मात्रै त्यसो गर्ने गरेको स्वयं सवारी चालकहरु बताउँछन् । कतिपय चालकहरुले ट्राफिक प्रहरी जवानहरुले अनुचित लाभ लिएर सडकमा गाडी रोक्न दिने गरेको बताए ।
नेपालगन्ज-गुलरियाको लागि जाने बसहरु धम्बोझीमा बाटोमै यात्रु झार्ने र चढाउने गर्छन् । त्यसैकारण केही समयअघि फराकिलो बनाइएको सडक पनि साँघुरो बन्ने गरेको छ । दुर्घटनाको जोखिम बढेको छ ।
सडकमै पार्किङ
नेपालगन्जमा अधिकांश व्यावसायिक प्रतिष्ठानहरुको आफ्नै पार्किङस्थल छैन । सबैले सडकमै पार्किङ गराउने गरेका छन् । एकातर्फ सुर्खेत रोड बिस्तारमा मापदण्डअनुसार फराकिलो बनाइएन । त्यसैमा सककमै पार्किङ गराइँदा सडक अति साँघुरो बनेको छ । सडक विस्तारपछि निर्माण भएका ठूला व्यवसायिक भवनहरुले पनि पार्किङको व्यवस्था गरेका छैनन् । होटेलदेखि सुपरमार्केटले सडकमै पार्किङ गराउने गरेका छन् ।
ट्राफिक प्रहरीले सडकमै रेखांकन गरेर पार्किङ गर्ने व्यवस्था गरेको छ । तर ती रेखाहरुलाई कसैले पालना गर्दैनन् । कार पार्किङ गर्ने लेखिएको ठाउँमा मोटरसाकल र मोटरसाइकल पार्किङ गर्ने लेखिएको ठाउँमा कार पाकिङ गरिएका हुन्छन् ।
पार्किङ निषेध लेखिएको ठाउँमा सवारी साधन पार्किङ गरिएको देखिनु नेपालगन्जमा सामान्य जस्तै बनेको छ ।
खै जेब्राक्रसिङ ?
नेपालगन्जमा जेब्राक्रसिङको पालना नै हुँदैन । जेब्राक्रसिङमै गाडिहरु रोएिका हुन्छन् । यात्रुहरुले पनि जेब्राक्रसिङलाई पालना गर्दैनन् । आजभोली त सडकमा जेब्राक्रसिङ पनि मेटिएका छन् । तिनको पुनः रेखांकन भएको छैन ।सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसी केही दिनमै जेब्राक्रसिङ रेखांकन गरिने बताउँछन् ।
फुटपाथमा अवरोध
फुटपाथमा हिड्नेहरुलाई कुनै पनि सडक किनारमा सहज व्यवस्था छैन । उनीहरु फुटपाथ छाडेर सडकमै हिड्नु्पर्ने बाध्यता छ ।
खै हर्न निषेध ?
बाँके ट्राफिक प्रहरीको एक आकर्षक नारा थियो अब हर्न मुक्त नेपालगन्ज बनाइयो । त्यसका लागि विभिन्न ठाउँमा पर्चा पम्पलेटहरु पनि टाँस गरियो । तर, अहिले हर्न निषेध अभियान पनि छायाँमा परेको छ । प्रेसर हर्न बजाएर मुख्य बजारमै गाडीहरु गुडिरहेका हुन्छन् । यसका साथै अस्वभाविकरुपमा चर्को आवाज बनाएर गुड्ने मोटरसाइकल नियन्त्रणतर्फ पनि ट्राफिक असफल बनिरहेको छ ।
……
नेपालगन्ज उप-महानगरपालिकामा जनप्रतिनिधिहरुको एउटा प्रतिबद्धता सडक सुरक्षामा सुधार पनि थियो । त्यसमा पूर्वाधारका हिसाबले उल्लेखनीय काम भएपनि नियम पालनामा भने कत्ति पनि सुधार भएको छैन । जनप्रतिनिधिहरु अब नियम पालना गराउने जिम्मा ट्राफिक प्रहरीको भएको बताउँछन् । ट्राफिक प्रहरी जनशक्ति अभाव लगायतका समस्या देखाउने गर्छ ।
ट्राफिक प्रहरीले जनचेतना जगाउने कार्यक्रममा पनि प्रभावकारिता देखाउन सकेको छैन । लाइसेन्स चेकिङमै ट्राफिक प्रहरी सीमित भएर बसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाह ट्राफिक अब सक्रियता बढाइने बताउँछन् । ई-रिक्साको व्यवस्थापनका लागि उपमहानगरपालिकासग सहकार्य भइरहेको उनको भनाइ छ । दर्ता प्रकृया पूरा भएपछि ई-रिक्सा व्यवस्थापनमा सहजता आउने उनको भनाइ छ । ‘हामी प्रयास गरिरहेका छौँ । केही समयमा परिवर्तन देख्न सक्नुहुनेछ । हामी सरोकारवाला निकायसँग छलफलमा छौँ । अब जनचेतना र कारबहीका कामलाई पनि एकसाथमै लिएर अघि बढ्ने योजना बनाएका छौँ ।’
ट्राफिक नियम पालना गराउनमा जनशक्ति अभाव मुख्य समस्याकारुपमा रहेको शाह बताउँछन् । उनले कम्तिमा पनि एक सय जना ट्राफिक प्रहरी बाँकेमा आवश्यक भएपनि अहिले ६८ जनाले काम चलाउनुपरेको बताए । जनशक्ति थपका लागि पनि प्रयास भइरहेको उनको भनाइ छ ।
तर शाहको जस्तै भनाई यसअघि पनि ट्राफिक बाँकेको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षकहरुको हुने गरेको थियो । केही समय सक्रिय भएको जस्तो देखाउने र फेरि उस्तै अवस्था हुने गरेको छ ।