बुद्ध एयरमा बेहोस भएकी जानुकाको अवस्था सामान्य
Thursday, January 20th, 2022, 1:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ६ माघ
काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको कल साईन नं 9N–AJX विमान केहि समय आकासमै एयर ट्राफिङ जाममा परेपछि बेहोस भएकी महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । खराब मौसमका कारण विमान निर्धारित समयमा अवतरण गर्न नसकेपछि जानुका थापा विमानमै बेहोस भएकी थिइन ।
बुद्ध एयर नेपालगन्ज स्टेसन प्रमुख बिनित शाहका अनुसार सामान्य उपचारपछि अहिले ती महिला घर फर्किएकी छिन । शाहका अनुसार नेपालगन्जको खराब मौसमका कारण बिहिबार बिहान केहि समय सम्म जहाज ल्यान्डिङ हुन सकेको थिएन ।
नेपालगन्जमा विहानै देखी पानी परेका कारण काठमाडौंबाट आएको विमानलाई नेपालगन्ज एयरपोर्टमा अवतरण गर्न समस्या भएको थियो । बिहान ७ः ४४ बजे काठमाडौंबाट उडेको जहाज नेपालगन्जमा ८ः ४४ बजे अवतरण हुनु पर्ने थियो ।
करिब ३५ मिनेट सम्म उक्त विमान आकाशमा उडेको थियो । विमान आकाशमै धेरै बेर होल्ड भएपछि आत्तिएर जानुका थापा बेहोस भएकी थिइन । पछि उनलाई तत्कालै राझाँ स्थित आर्मी अस्पतालमा लगिएको स्टेसन म्यानेजर शाहले बताए । स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई आफन्तको जिम्मा लगाइएको उनले कालपृष्ठलाई बताए ।