‘पहिले कायम कित्ता गायब पारी नयाँ कित्ता बनाइयो’
Monday, January 24th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
बाँकेको जानकी गाउँपालिका-२ का तजबहादुर हमालको अहिले निद्रा भोक हराएको छ । २०६७ सालमा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको कित्ता नम्बर १०४ को ४ कठ्ठा ९ धुर जग्गाको लालपुर्जा र त्यससँग सम्बन्धित अनेक कागजातहरु बोकेर उनी अड्डा अदालत धाउन थालेको दुई वर्ष भइसक्यो । तर उनको समस्या समाधान भएको छैन । अहिले उनलाई मालपोत कार्यालयले उनको कित्ता नै गायब भएको नक्सा देखाएर रनभुल्लमा पारिरहेको छ ।
हमालको जग्गा मात्रै नभई पुरानो नक्सामा भएको सार्वजनिक बाटोलाई पनि काटेर नयाँ कित्ता निकालिएको छ । साविकको खजुराखुर्द-२ मा पर्ने उक्त स्थानको जग्गाको नक्सामा गम्भीर खेलवाड गरिएको पाइएको छ ।
२०२४ सालको नापीमा रहेको खजुराखुर्द-२ ख को कित्ता नम्बर १०४ को जग्गाको लालपुर्जा तजबहादुर हमालको नाममा छ । तर, २०५८ सालमा नापी गरिएको भनिएको नक्सामा उनको जग्गाको कित्तालाई दुई भागमा विभाजन गरेर ३३० र ३४० कित्ता नम्बर लेखिएको छ । तजबहादुर नापीले देखाउने गरेको नक्सा नै किर्ते भएको दाबी गर्छन् । उनका अनुसार २०६७ सालमा प्राप्त उक्त जग्गाको लालपुर्जामा १०४ नम्बर लेखिएको कित्ता भएको नक्सालाई गायब पारेर अहिले नापी कार्यालयले अर्को नक्सा देखाउने गरेको छ । जसमा १०४ नम्बरको कित्ता नै छैन ।
२०२४ सालको नक्सामा १०४ नम्बरको कित्ताको दक्षिण र पश्चिममा सार्वजनिक बाटो उल्लेख भएकोमा उक्त बाटोमा पनि नयाँ कित्ता बनाइएको छ । उक्त बाटो पनि स्थानीय जनप्रतिनिधिको मिलोमत्तोमा कित्ता कायम गरी किनबेच भएको तजबहादुरको आरोप छ ।
अख्तियारमा उजुरी
तजबहादुरले मिलोमतोमा आफ्नो लालपुर्जामा भएको कित्ता गायब गरी नयाँ कित्ता बनाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी दिएका छन् । उनको एउटा उजुरीमाथि छानबिन गर्नका लागि अख्तियारले २०७८ वैशाख १५ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई लेखिपठाएको छ ।
अर्को उजुरीमाथि भने अख्तियारका नेपालगन्जस्थित कार्यालयले छानबिन गरिरहेको जनाएको छ । अख्तियार स्रोतका अनुसार पहिलो उजुरी अनैतिक क्रियाकलापसँग सम्बन्धित भएकोले मन्त्रालयमा लेखिपठाइएको हो । अर्को उजुरीमा निवेदनकर्ताले आफूसँग भएको लालपुर्जाको कित्तामा मिलोमत्तो र आर्थिक लेनदेन गरी गायब पारेको भन्दै निवेदन दिएकोले कारबाही प्रकृया अघि बढाइएको छ ।
अख्तियार स्रोतका अनुसार तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले खजुरा खुर्दका ९४ जनाको नाममा श्रेस्ता पुर्जा बनाएर मालपोतलाई सिफारिस गरेको थियो । उक्त पुर्जा १० वर्षपछि स्थायीमा रुपान्तरण गर्न प्रकृयामा आउनुपर्ने व्यवस्था गरिएको थियो । तर, अहिले मालपोतबाट प्राप्त फायलमा खजुरा खुर्दका आधा दर्जन व्यक्तिको मात्रै नाम छ । ‘९४ जनाको सिफारिस भएकोमा आधा दर्जन व्यक्तिको मात्रै नाम भएको फायल प्राप्त भएकोले हामी थप प्रमाण जुटाइरहेका छौँ । मालपोतले माग गरेका प्रमाणहरु दिन ढिलाई पनि गरेको छ,’ अख्तियार स्रोतले भन्यो ।
पीडित तजबहादुर आफूजस्तै लालपुर्जा भएर पनि कित्ता फरक पारेर समस्यामा रहेका अरु स्थानीयहरु पनि रहेको र उनीहरु अनेक प्रलोभन र प्रकृयागत जटिलताका कारण चुप लागेर बसेको बताउँछन् ।
तजबहादुरले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा जग्गाको हाल साबिक गरिदिनका लागि मुद्धा दायर गरेकोमा अदालतले नियमानुसार गर्नु भन्ने परमादेश पनि दिइसकेको छ । तर, तजबहादुरका लागि आवश्यक कागजातहरु अख्तियारले नियन्त्रणमा लिएको र अख्तियारले ती कागजातहरु टुंगो नलागेसम्म दिन नमिल्ने बताएका कारण उक्त प्रकृयामा जान नसकेको बताएका छन् ।