तीनवटै चुनाव सँगै गर्न सकिन्छ : नेता गिरी
Tuesday, January 25th, 2022, 6:57 pm
Kalpristha
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वभन्त्री दीपक गिरीले संघ, प्रदेश र स्थानीय चुनाव सँगै गर्न सकिने बताएका छन् । गिरीले देशलाई घाटा नलगाउने भए तीनवटै चुनाव एकैसाथ गर्न सकिने बताएका हुन् ।
मंगलबार प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गिरीले देशको ढुकुटीलाई खर्च गर्न हिसाबले मात्र चुनाव गराउन नहुने तर्क गरे । ‘यदि नीति नियमले हुन्छ र देशलाई घाटा लाग्दैन भने एकैपटक तीनवटै चुनाव गराउँदा केही फरक पर्दैन । हैन भने संघको चुनाव गरेर बाँकी चुनाव गराउँदा पनि राम्रै हुन्छ,’ गिरीले भने ।
दाङमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आएका गिरीले राष्ट्रलाई जे गर्दा फाइदा हुन्छ त्यो कुरा सबैभन्दा माथि रहनुपर्ने बताए । अर्को सन्दर्भमा गिरीले भारतसँग देखिएका सीमा तथा भूमिसम्बन्धी समस्यालाई संवादमार्फत समाधान गर्नुपर्ने बताए । उनले भने, ‘भारतसँग देखिएका समस्याबारे गाली गरेरमात्र राष्ट्रवादी भइँदैन । यसका लागि सरकारले बलियो भएर कुरा अघि बढाउनु पर्न । यसमा उग्र भएरमात्र समस्याको समाधान हुँदैन ।’
त्यस्तै गिरीले नेपाली कंग्रेसलाई गुट-उपगुट त्यागेर एकठिक्का बनाउन सबै लाग्नु पर्ने बताए । ‘नेपालको एतिहास बोकेको नेपाली कांग्रेस पाटीका सबै सदस्यले गुट-उपगुटको पछि लाग्दा पाटी बलियो हुँदैन । आधारभूत कुरा भनेको पाटी बलियो भए हामी सबै बलियो हुन्छौं । त्यसैले हिजोका अधिवेशनमा जे भएपनि त्यसको परिणाम आइसकेको छ । सबैले त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ,’ उनले भने ।