फुटबलका पुर्व कप्तान हरी खड्का विरुद्ध अदालतमा आरोपपत्र दायर
Wednesday, January 26th, 2022, 6:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान तथा प्रहरी नायव निरिक्षक हरि खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ती भएको आरोपमा अख्तियारीले मुद्दा दर्ता गरेको छ ।
बुधबार अख्तियारी दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ । महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(केन्द्रीय खेलकुद समितिमा) कार्यरत खड्काले प्रमाणपत्र तहको नक्कली पेस गरेको आरोप लागेको छ ।
उनले पेस गरेको माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशबाट जारी भएको प्रमाणपत्र नक्कल भएको अनुसन्धानबाट खुल्न आएको छ ।
जसको आधारमा फुटबल प्रशिक्षक समेत रहेका खड्काले २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षक पदमा नियुक्ति भएका थिए । उनी २०५९ पुस १४ गते प्रहरी नायब निरिक्षकमा बढुवा भएका थिए ।
नक्कली प्रमाणपत्र पेस गरेर सरकारलाई हानिनोक्सानी पु¥याएको भन्दैं उनलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ अनुसार दण्ड सजायको माग गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरेको अख्तियारी दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन । नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेका खड्काले केहि समय अघि नेपाल प्रहरीबाट राजिनामा दिइसकेका छन । 