अतिक्रमण हटाउन सडक डिभिजनको आलटाल
Friday, January 28th, 2022, 5:00 am
Kalpristha
डिभिजन सडक कार्यालय नेपालगन्जले सुर्खेत रोडकोसडक क्षेत्रको अतिक्रमण हटाउन दिएको अल्टिमेटमा कसैले पनि अतिक्रमण हटाएनन् । कार्यालयले पुस मसान्तभित्रसडकको अतिक्रमण हटाउन अनुरोध गर्दै उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयले नै हटाउने भन्दै सूचना जारी गरेको थियो । तर उक्त सूचनाको पालना नभएपछि नियमानुसार अघि बढ्नुपर्नेमा सडक डिभिजनले अनेक बाहनामा आलटाल गरिरहेको छ ।
सूचनामा तोकिएको समयमा अतिक्रमण हटाउँदा हुने क्षतिको जिम्मेवार सडक डिभिजन नहुने र अतिक्रमण हटाउँदा लाग्ने खर्च पनि अतिक्रमण गर्ने व्यक्तिबाट भराइने सूचनामा उल्लेख थियो । तर दिइएको अल्टिमेटम सकिएको दुई हप्ता पुग्न लाग्दा पनि सडक डिभिजन कार्यालय के गर्ने भन्ने अन्यौलमै छ ।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसी प्रमुख जिल्ला अधिकारी र आफ्नो स्वास्थ्य उपचारका कारण एक्सनमा जान ढिलाई भएको बताउँछन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री आँखाको उपचारमा केही दिन काठमाडौंमा थिए भने अहिले एसी आफ्नो दाँतको उपचारका लागि काठमाडांै गएका छन् ।
अतिक्रमण हटाउनका लागि निणर्य गर्नुपर्ने दुई मुख्य व्यक्तिहरु नै जिल्लामा नहुँदा ढिलाई भएको डिभिजन कार्यालयका कर्मचारीहरु बताउँछन् । प्रमुख एसी अब उपचार गरेर फर्किसकेपछि तत्काल निणर्य गरेर नियमाअनुसार अतिक्रमण हटाइने बताउँछन् । नियमानुसारअब सडक डिभिजन आफैले सडक क्षेत्रमा बनाइएका संरचनाहरु भत्काउने प्रकृयामा अघि बढ्नुपर्ने हुन्छ ।
सडक डिभजन कार्यालयकै सामुन्नेसडक क्षेत्रमै भवनहरु निर्माण भइरहेका छन् ।आँखैअघि सडक अतिक्रमण गरी संरचना निर्माण गरिँदा पनि सडक डिभजन मुकदर्शक भएर बसेको छ । यस्तोमा वर्षौँदेखि सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउनु सडक कार्यालयलाई चुनाति हुने सम्बद्धहरु बताउँछन् ।
अर्कोतिर अतिक्रमण हटाउन नदिन राजनीतिक दवाब पनि सुरु भएको स्रोतले जनाएको छ । नेपालगन्ज सुर्खेतरोडहाल २५ मिटर भित्र धेरै संरचनाहरु रहेको रधेरै संरचनाहरु भत्किने भएकोले त्यसरी संरचना बनाएर बसेकाहरुले रोक्नका लागिराजनीतिक दलका नेताहरुमार्फत दवाब बढाएको स्रोतको भनाइ छ ।
सुर्खेत रोडलाई ६ लेनको बनाउने भनिएपनि बिस्तार गर्ने क्रममा संरचना भत्काउन स्थानीय तयार नभएको र तत्कालिन विवाद साम्य पार्न जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडकको ६ मिलोमिटरबाहेक अरु चार लेन मात्रै निर्माण गरिएको थियो । सडक क्षेत्र दुवैतर्फ २५-२५ मिटर गरी कुल ५० मिटरको हुनुपर्नेमा हाल त्यसको आधा मात्रै छ ।
सडक डिभिजन प्रमुख एसी कानुनले भनेअनुसार अतिक्रमण हटाएरै छोड्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले नै अतिक्रमण हटाइएन भने भोली झन् अप्ठ्यारो हुँदै जान्छ । नेपालगन्जको बढ्दो सवारी चाप र बढ्दो शहरीकरणलाईपनि ध्यानमा राखेर यहाँका राजनीतिक दल, स्थानीय निकाय, प्रशासन र आम नगरवासीलेसाथ दिनुपर्छ । नभए भोली दुःख भोग्ने पनि यहीँका स्थानीयले हो ।’
सुर्खेत रोड क्षेत्रमा सर्वसाधारण, व्यापारीदेखिसरकारी कार्यालयले नै सुर्खेत रोडको सडक क्षेत्र अतिक्रमण गरेका छन् ।स्थानीय तहले नै सडक क्षेत्रमा अन्य संरचनाहरु निर्माण गरेका छन् । नेपालगन्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सशस्त्र प्रहरी कार्यालयले नै सडक अतिक्रमण गरी बाउन्ड्री वाल लगाएका छन् ।
सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुबै तर्फ ६-६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ । तर, डिभिजन सडकले अहिले २५ मिटरका क्षेत्र मात्रै खाली गराउन सूचना जारी गरेको छ । सडक २५ मिटरभन्दा बाहिर ६ मिटरमा संरचना बनाएका सरकारी कार्यालयका सन्दर्भमा सडकको भूमिका कस्तो हुन्छ?हेर्न बाँकी छ ।
रत्न राजमार्गको नेपालगन्जको जमुनाह देखि सुर्खेतको हर्रेसम्म अनेक ठाउँमा सडक क्षेत्र अतिक्रमण गरिएका छन् । यसका साथै आवतजावतमा अहजता उत्पन्न हुने र दुर्घटनाको जोखिम बढाउनेगरी निर्माण सामग्री, व्यवसायिक सामानसमेत सडक क्षेत्रमै राखिएका छन् ।
नेपालगन्जका फुटपाथमा पनि अतिक्रमण गरिएको छ ।सडक क्षेत्रमा अतिक्रमण गरिएको विषयमा कालपृष्ठले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।