पुरानै डिजाइनमा बन्ने भयो लुम्बिनी प्रदेशसभा भवन
Friday, January 28th, 2022, 10:35 pm
Kalpristha
पुरानै डिजाइनमा लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम सुरु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका-३ मसुरियामा निर्माणाधिन भवन प्रदेश सरकारले पुरानै ढाँचा र बजेटमा निर्माणका लागि निर्देशन दिएपछि एक महिनादेखि रोकिएको प्रदेशसभा भवन निर्माणको काम बिहीबारदेखि पुनः सुरु भएको छ ।
प्रदेश सरकारले पुरानै डिजाइनमा भवन निर्माणको काम अघि बढाउन निर्देशन दिएपछि रोकिएको भवन निर्माणको काम सुरु भएको प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । पुरानै डिजाइनमा भनिए पनि प्रदेशसभा भवनको वालमा भने चाइनिज ईटा प्रयोग हुने भएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनन्तराज घिमिरेले बताए ।
‘लुम्बिनी प्रदेशको पहिचान झल्कने गरि पुरानो डिजाइनमा केही परिवर्तन गरि नयाँ डिजाइनमा भवन निर्माणको काम सुरु गरेका थियौ । तर नयाँ डिजाइनमा भवन निर्माणका स्वीकृति पाइएन,’ कार्यकारी प्रमुख घिमिरेले भने, ‘जसले गर्दा पुरानै डिजाइन अनुसार प्रदेशसभा भवन निर्माणको काम सुरु भएको छ ।’
नयाँ डिजाइन अनुसार प्रदेशसभा भवनको भवनको छानामा रोल्पाली ढुंगा, भवनको मुलद्वारमा आँखीझ्याल र वालमा चाइनिज ईटा प्रयोग गर्नेगरी डिजाइन परिवर्तन भएको थियो । तर प्रदेश सरकारले कानुनी जटिलताका कारण नयाँ डिजाइनलाई रोक्दै पुरानै डिजाइनमा काम गर्न निर्देशन दिएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रदेशसभा भवन निर्माणका लागि संघीय सरकारले एक करोड बजेट बिनियोजन गरेको छ ।
गत मंसिर २५ गतेदेखि रोकिएको काम डेढ महिनाभित्र सक्ने गरि भवन निर्माणको काम सुरु भएको भवन निर्माणको जिम्मा पाएको वाइवी स्टोन बिल्ड्रर्स प्रालिका सञ्चालक निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिए । ‘बजेटको सूनिचिता नहुँदा काम रोकिएको थियो,’ निर्माण व्यवसायी केसीले भने, ‘अहिले पुरानै डिजाइनमा काम गर्न निर्देशन आएपछि बिहीवारदेखि काम सुरु भएको छ ।’
निर्माण व्यवसायीका अनुसार ४० दिनभित्र भवन निर्माणको काम सकिने बताए । ‘यसअघि नयाँ डिजाइनमा भवन निर्माणको काम हुदाँहुदै रोकिएको थियो । करिब डेढ महिनापछि पुरानै ढाँचामा भवन निर्माणको काम सुरु गर्न निर्देशन आएपछि अहिले काम सुरु भएको छ,’ निर्माण व्यवसायी केसीले भने, ‘पहिलेकै डिजाइनमा काम हुने भएपछि अब चाडै नै काम सक्ने छौ ।’ करिब एक वर्षसम्म रोकिएको काम वाइबी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएपछि प्रदेशसभा भवन निर्माणले गति लिएको थियो ।
निर्माण व्यवसायीका अनुसार भवनको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुको सम्झौता अनुसार गएको आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने प्रदेश सभाहल विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाई हुदै आएको छ ।
प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बन्ने भएका छन् ।