विद्यालयमा अघिल्ला लकडाउनको सिकाई भएन प्रयोग
Saturday, January 29th, 2022, 11:54 am
Kalpristha
–वीरेन्द्र जैसी
कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएको यो तेस्रोपटक हो । पहिलो र दोस्रोपटकको बन्दले सामुदायिक विद्यालयलाई वैकल्पिक विधिबाट शिक्षण गराउनका लागि के सिकायो ? त्यो अहिले छर्लंग भएको छ । विद्यालय बन्द भएको करिब दुई हप्ताभन्दा बढी बित्दा पनि विद्यालयले वैकल्पिक विधिबाट पढाई सुरु गरेका छैनन् । सरकारले कोरोनाका संक्रमण उच्च दरले बढ्न थालेको भन्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निणर्य गरेको थियो । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
यस्तो अवस्थामा पनि सामुदायिक विद्यालयहरुले अनलाइन माध्यमबाट पढाउने तयारी गरिसकेका छैनन् । माघ १५ गतेसम्म पर्खिने र त्यसपछि भ्याएसम्म वा आलोचनाबाट बच्नका लागि मात्रै अनलाइन कक्षा सन्चालन गर्ने रणनीतिमा विद्यालयहरु छन् ।
विद्यार्थीहरु भने पुनः पढाईको वातावरणबाट टाढा भएका छन् । नेपालगन्ज वडा नम्बर ४ की स्थानीय किरण वैश्यले विद्यालय बन्द भएपछि छोराछोरीहरुले पढेको कुरा पुनः बिर्सने हुन् कि भन्ने चिन्ता थपिएको बताइन् । यो चिन्ता अधिकांश अभिभावकहरुको हो ।
नेपालगन्जको सबैभन्दा बढी आकर्षण भएको सामुदायिक विद्यालय भनेर चिनिएको धम्बोझी माध्यमिक विद्यालयमा अहिले केही शिक्षकहरु मात्रै भेटिन्छन् । विद्यार्थीले गुन्जायमान हुने विद्यालय सुनसान छ । शिक्षकहरु कामबिहीन भएका छन् ।
स्थानीय नेपालगन्ज कन्या माविले पनि अब कसरी अघि बढ्ने भन्ने निणर्य गरिसकेको छैन । विद्यालयका प्रधानाध्यापक बुधेशकुमार जयसवाल अब १५ गतेपछि मात्रै कसरी अघि बढ्ने भन्ने तय हुने बताए । विद्यालयमा अनलाइन कक्षाका लागि पूर्वाधार पनि रहेको उनी बताउँछन् । उक्त विद्यालय नेपालगन्ज उप-महानगरपालिकाले सन्चालन गरिरहेको विद्यालय हो ।
नेपालगन्जको ग्रामीण क्षेत्रमा पर्ने वडा नम्बर १४ स्थित मावि महेन्द्रनगरका प्रधानाध्याक जगदीश द्विवेदी यसअघिका बन्दका बेला अभ्यास गरिएको अनलाइन कक्षामा जम्मा दुई-तीन प्रतिशत विद्यार्थी मात्रै सहभागी भएको बताउँछन् । त्यही भएर अहिलेसम्म अनलाइन कक्षाको लागि कुनै तयारी नभएको उनको भनाइ छ ।
नेपालगन्ज-२१ स्थित महाराजा माविमा त यसअघि पनि अनलाइन कक्षाको अभ्यास नै भएको थिएन । प्रधानाध्यापक मन्जु शर्मा भन्छिन्, ‘अब नगरपालिकाले पनि के गर्ने भन्ने सल्लाह देला नि । त्यहीअनुसार अघि बढ्छौँ ।’ शर्माले केही शिक्षकहरुलाई विद्यार्थीहरुबाट शुल्क लिएर भौतिक उपस्थितिमै कोचिङ कक्षा सन्चालन भइरहेको बताइन् । जुन आफैमा विरोधाभाषपूणर् छ र नियमविपरित पनि छ ।
तेस्रोपटक भएको विद्यालय बन्दसम्म विद्यालयहरु अनलाइन वा वैकल्पिक विधिका लागि तयार भइसक्नुपर्नेमा त्यसो हुन नसकेको नेपालगन्ज-७ स्थित महेन्द्र माविका प्रधानाध्यापक राजेशकुमार यादव स्वीकार्छन् । उक्त विद्यालयमा पनि अहिलेसम्म अनलाइन कक्षाको सुरसार छैन ।
विद्यालय बन्द भएपनि शिक्षकहरु भने अनिवार्य उपस्थित हुनुपर्ने भनिएकोमा अधिकांश शिक्षकहरु पनि विद्यालय नआउने गरेको पाइएको छ ।
अरु विद्यालयहरुले अनलाइन कक्षामा अघिल्ला लकडाउनकोे सिकाई प्रयोग नगरेपनि मंगलप्रसाद मावि नेपालगन्जले भने त्यसको प्रयोग गरिरहेको छ । विद्यालयमा कक्षा ६ देखि माथिका कक्षाको अनलाइन पढाई भइरहेको शिक्षक एवं अंग्रेजी माध्यमका इन्चार्ज चन्द्रदेव यादवले बताए । उनका अनुसार अनलाइन कक्षामा ७० प्रतिशत भन्दा बढी विद्यार्थीको सहभागिता हुने गरेको छ । शिक्षक यादव भन्छन्, ‘अघिल्ला बन्दबाट पनि केही नसिक्नु र सिकेका कुरा प्रयोग नगर्नु शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनको अकमण्र्यता हो । हामीले अघिल्ला बन्दको सिकाई नै अहिले प्रयोग गरिरहेका छौँ ।’
नेपालगन्ज उप-महानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र शाहले अहिलेसम्म एकाधबाहेक सामुदायिक विद्यालयहरुले अनलाइन कक्षा सुरु नगरेको बताए । माघ १५ गतेसम्म विद्यालय बन्दको मात्रै निणर्य भएको र वैकल्पिक विधिको प्रयोगबारे स्पष्ट निर्देशन नरहेको उनी बताउँछन् । अब माघ १५ पछि पनि विद्यालय बन्द रहेमा भने वैकल्पिक विधिको प्रयोगतिर जानुपर्ने उनले बताए ।
संस्थागत विद्यालयमा पनि छैन अपेक्षित तदारुकता
प्रविधिको प्रयोगमा नेपालगन्जस्थित जयबागेश्वरी मावि र आदर्श मावि अघि रहेको ती विद्यालय सन्चालक एवं शिक्षकहरु बताउँछन् । जय बागेश्वरीले कक्षा १ देखि १२ सम्मै अनलाइन कक्षा सन्चालन गरिरहेको जनाएको छ भने आदर्शले नर्सरी देखि नै अनलाइन कक्षा सन्चालन गरिरहेको जनाएको छ ।
जयबागेश्वरीका शिक्षक महेश बहादुर पन्तले अनलाइन कक्षाका विद्यार्थीको उपस्थिति ७० प्रतिशतभन्दा बढी रहेको बताए । उनले अघिल्ला बन्दले आफूहरुलाई बन्दको बेला वैकल्पिक विधि अपनाउन तयार बनाएको दाबी गरे ।
आदर्शमा सहायक प्रधानाध्यापक टंकप्रसाद गौतमले भने आफूहरुले अनिवार्य अनलाइनमा उपस्थित गराउनुपर्ने नियम नै लगाएको बताए । ‘हामीले बन्द भएकै दिनबाट अनिवार्य अनलाइन कक्षा सुरु गर्यौँ । हामी पहिल्यैदेखि यसका लागि तयार थियौँ । विद्यार्थीहरु उपस्थित भएनन् भने फ्लोअप गर्ने गरेका छौँ । शतप्रतिशत विद्यार्थीहरु उपस्थित भइरहेका छन् ।’
अन्य केही संस्थागत विद्यालयमा पनि अनलाइन पढाई भइरहेका विद्यालयहरुले जनाएका छन् । तर, ती कक्षाहरुको प्रभावकारिता नभएको अभिभावकहरु बताउँछन् । शुल्क उठाउन सजिलोका लागि पनि संस्थागत विद्यालयहरुले अनलाइन कक्षा सन्चालन गरेको र प्रभावकारिता कम रहेको अभिभावकको भनाइ छ ।
नेपालगन्जस्थित आइडियल पब्लिक माविका प्रधानाध्याक वीरेन्द्र नरसिंह श्रीवास्तव अनलाइन कक्षा अभिभावक र बालबालिकाकालाई भुलाउने बाटोमात्रै भएको बताउँछन् । बरु थोरै विद्यार्थीहरुलाई सिफ्ट मिलाएर सबै सावधानी अपनाएर भौतिकरुपमै कक्षा सन्चालन गर्नु उपयुक्त हुने उनको भनाइ छ । आफूहरु त्यसकै प्रयासमा रहेको उनी बताउँछन् ।
सरकार पनि उदासिन
कोरोनाका कारण भएका बन्दले सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्रमा वैकल्पिक विधिको प्रयोगमा सरकार पनि असफल भएको छ । बालबालिकाहरु अनलाइनमा पढ्न नसक्नुको मुख्य कारण इन्टरनेटको पहुँच नहुनु रहेकोमा सरकारले त्यसमा कुनै काम नगरेको शिक्षकहरु बताउँछन् ।
यसका साथै, विद्यालय सन्चालनको मोडेलबारे पनि सरकारले स्पष्ट निर्देशन दिन सकेको छैन । जसकारण लाखौँ विद्यार्थीहरु पढाईबाट बन्चित भएका छन् भने शिक्षकहरु कामबिहीन भएका छन् ।