डोल्पामा माक्स नलगाउने २४ जनालाई कारबाही
Saturday, January 29th, 2022, 3:55 pm
Kalpristha
–विष्णुप्रसाद देवकोटा
तपाईको माक्स खै ? अभियान अन्र्तगत डोल्पा प्रहरीले २४ जनालाई कारबाही गरेको छ । ठूलिभेरी नगरपालिका अन्र्तगत सदरमुकाम दुनै बजारमा माक्स नलगाई हिडडुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो ।
पछिल्लो समय सार्वजनिकस्थलमा कोभिड-१९ व्यवस्थापन समितिको निणर्य विपरित सर्वसाधारण र व्यवसायीहरु माक्स नगाएर हिडिरहेको पाइएपछि प्रहरीले तपाईको माक्स खै ? अभियानलाई कडाईका साथ कार्यान्वयनमा ल्याएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरी नायव निरीक्षक भीमलाल न्यौपानेको कमाण्डमा सचेतनामुलक अभियानलाई कडाईका साथ संचालन गरिएको प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बताए ।
अभियान अन्र्तगत दुनै बजारमा माक्स नलगाएर हिडरहेका २४ जनालाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरेर दुई हजार चार सय रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले माक्स अनिवार्य प्रयोग, सामाजिक दुरी कायम, २५ जना भन्दा बढीको भेला गर्न नपाउने, सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निणर्य गरेको छ । डोल्पाका दुनैबजार, जुफाल बजार र खदाङ्ग बजारमा यो अभियानलाई निरन्तरता दिने गरी कडाईका साथ संचालन गरिएको छ ।
यसैगरी डोल्पा प्रवेश गर्ने सडक तथा हवाई यात्रुहरुलाई अनिवार्य एन्टिजिन परीक्षणका लागि जुफाल विमानस्थल र सडक प्रवेश द्वार मानिएको खदाङ्गमा समेत हेल्थडेक्स स्थापना गरिएको समेत जिल्ला प्रशासनले जनाएको छ । पछिल्लो समयमा स्वास्थ्य परीक्षणको क्रममा २३ जना संक्रमित फेला परेकोमा उनीहरु होमआइसोलेसनमा रहेका छन् ।