महेन्द्र पुस्तकालयको हरहिसाबका कागजपत्र गायव
Sunday, January 30th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्जस्थित महेन्द्र पुस्ककालयका आर्थिक लेखाजोखा र हरहिसाबका कागजपत्र नै गायव गरिएका पाइएको छ । दुई दशकदेखि व्यवस्थापन समितिविहीन रहेको महेन्द्र पुस्तकालयको रेखदेख गर्दै आएका सच्चिदानन्द चौवे पुस्तकालयका हिसाबकिताबहरु अहिले दुरुस्त नरहेको बताउँछन् ।
२०५४ सालमा अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो दुईवर्षे कार्यका सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण नै गरेनन् । उनले पुस्तकालय हस्तान्तरण नगर्ने मात्रै होइन पुस्तकालयको हरहिसाब पनि दुरुस्त नराखेको पाइएको छ । समितिको सदस्य सचिवका रुपमा रहेका सच्चिदान्द चौवे र टण्डनको मिलोमतोमा पुस्तकालय धराशायी भएको सम्बद्धहरु बताउँछन् ।
२००३ सालमा स्थापना भएको पुस्तकालयले २०२४ सालमा हालको भवन पाएको थियो । तीनवटा ठूला हल र दुईवटा साना कोठासहितको पुस्तकालयमा अहिले कति पुस्तक छन् ? पुस्कालयमा वार्षिक कति सरकारी बजेट आउँछ ?, त्यो कहाँ खर्च हुन्छ ? त्यसको कुनै लेखाजोखा राखिएको छैन ।
स्थानीय सरकार बनिसकेपछि पनि नेपालगन्ज उप-महानगरपालिकाले पुस्तकालयको सुधारका लागि कुनै प्रयास गरेन । बरु वडा नम्बर ८ ले पुस्तकालयको समितिको खोजी नगरीकनै एउटा हलमा युवा सूचना केन्द्र सन्चालन गर्यो । मेयर डा. धवलशमशेर राणा पुस्तकालयको नयाँ कार्यसमिति बनाउने समन्वयकारी भूमिकाका लागि वडा नम्बर ८ का अध्यक्षलाई जिम्मा दिएको बाउँछन् । वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य भन्छन्, ॅमैले चौवे साबसँग पुस्तकालयको हरहिसाब मागेको धेरै भइसक्यो ।
आजिवन सदस्य र सन्चालक समितिको नामावली पनि दिन सक्नुभएको छैन ।’ वडाध्यक्ष वैश्यका अनुसार पुस्तकालय बाहिरका पाँचवटा सटरबाट मासिक २० हजारभन्दा बढी भाडा उठ्ने गर्छ । यसका साथै समयसमयमा सरकारबाट पुस्तक खरिद र व्यवस्थाथपनका लागि बजेट पनि आउने गरेको छ । २५ वर्षमा कति बजेट आयो र केमा खर्च गरियो ? भन्ने लेखाजोखा टण्डन र चौवेले दिन सकेका छैनन् ।
चौवेले कालपृष्ठसँग कुरा गर्दै अहिले पुस्तकालयको हरहिसाब दुरुस्त नभएको स्वीकार गरे । उनले वडाध्यक्ष गुप्तालाई नै आरोप लगाउँदै भने, ‘वडाध्यक्षले हाम्रो अनुमतिबिनै पुस्तकहरु यताउता पारिदिनुभयो । काजगपत्रहरु पनि यताउता परेका छन् । मैले स्वास्थ्यका कारण पनि मिलाउन सकिरहेको छैन ।’
देशकै पुरानो पुस्तकालय मध्येको एक पुस्तकालयमा भारतीय राजदूतावासको पनि सहयोग रहेको छ । पर्याप्त संरचना भएको पुस्तकालय टण्डन र चौवेको अनधिकृत एकाधिकार जमाउने चाहले बर्बाद पारेको नेपालगन्जका वरिष्ठ साहित्यकार सनत रेग्मी बताउँछन् । रेग्मी पनि तत्कालिन समितिमा उपाध्यक्ष रहेका थिए । समितिमा रहेपनि रेग्मी लगायतका व्यक्तिहरु पुस्तकालय भद्रगोल हुनुको दोष टण्डन र चौवेमाथि लगाउँछन् ।
रेग्मी समितिको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति बन्न नसकेमा वा व्यवस्थित नभएमा त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला प्रशासन, शिक्षा समन्वय र जिल्ला सम्न्वय समितिको पनि भएको बताउँछन् ।
जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रहेको छ । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहन्छन् । उक्त समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रहने व्यवस्था छ । बाँकेमा यो समिति निष्कृय जस्तै छ ।
समितिका संयोजक श्रीवास्तव भने आफूले पुस्तकालयको सुधारका लागि धेरै प्रयास गरेपनि सफल नभएको बताउँछन् । संयोजक श्रीवास्तवले अब अध्यक्षको राजीनामा कुरेर बस्ने भन्दापनि विधानअनुसार नयाँ सन्चालक समिति गठनका लागि प्रकृया अघि बढाइने कालपृष्ठलाई बताएको तीन महिना बितिसकेको छ । उनी प्रयासमा रहेको बताउँछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अब पुस्तकालयको नयाँ समिति निर्माण गर्ने बताएका छन् । पुस्तकालयको विषयमा कालपृष्ठले जानकारी गराएपछि आफ्नो ध्यानाकर्षण भएको र देखिएका समस्या समाधानका लागि आफू अघि बढ्ने प्रजिअ खत्रीले बताए ।