लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका बिरामी
Sunday, January 30th, 2022, 6:57 pm
Kalpristha
तस्बिर सौजन्यः हेल्थ आवाज
लुम्बिनी प्रदेशमा ५ सय ६७ जना कुष्ठरोगका विरामी रहेका छन् । विश्व उपेक्षीत उष्ण प्रदेशिय रोग दिवस २०२२ को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले आइतवार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८को तथ्याङक अनुसार प्रदेशमा ५ सय ६७ जना कुष्ठ रोगका बिरामी रहेको निर्देशनालयका ल्याव टेक्निसीयन खिमलाल पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार कुष्ठ रोगका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा १ सय ५७ जना रहेका छन् भने अर्घाखाची जिल्लामा शुन्य रहेका छन् । बाँकेमा १ सय २५ जना, बर्दियामा ५६ जना, दाङमा १७ जना, कपिलवस्तुमा १ सय २८ जना, नवलपरासीमा ४९ जना, पाल्पामा ९ जना, गुल्मीमा २ जना, प्युठानमा ४ जना, रोल्पामा ९ जना, रुकुम पुर्वमा १ जना कुष्ठरोगका विरामी रहेका छन् ।
कुष्ठरोग उपचार गरेपछि निको हुने भएकाले यसको समयमा उपचार गर्नुपर्ने उनले बताए । विरामीलाई सामाजिक भेदभाव गर्न नहुने उनले बताए । आउदो सन् २०३० सम्म शुन्यमा पुर्याउने सरकारको लक्ष्य रहेकोे छ । लुम्बिनी प्रदेश हात्तीपाइले रोगको पनि उच्च जोखिममा रहेका दाङ, कपिल वस्तु र बाँके गरि ३ जिल्लामा यही फागुन २८ गते हातीपाइले विरुद्ध औषधी खुवाइने उनले जानकारी दिए । हातीपाइले विरुद्ध सबैले औषधी नखादा जोखिम नहटेको उनको भनाइ रहेको छ । उष्ण प्रदेशिय रोगहरुलाई अन्य रोग जति ध्यान नदिएको उनले बताए । उष्ण प्रदेशिय रोग अन्तर्गत ११ वटा रोगहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री इन्द्रजित थारुले राज्यले आफनोतर्फवाट रोग उन्मुलनका लागि कार्य गदै आएको बताए । यसका लागि नागरिकको सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो । ‘राज्य कुष्ठरोग तथा हात्तिपाइले रोग नियन्त्रणका लागि लागि परेको छ । तर नागरिकको सहयोग आवश्यक रहन्छ’,मन्त्री चौधरीले भने,‘नागरिकको सहयोग भएन भने राज्यले मात्र एक्लै रोगलाई सून्यमा झार्न सक्दैन ।’ मन्त्री चौधरीले स्वास्थ्य सेवा प्रदानका गर्नका लागि आवश्यक पर्ने पुर्वाधार, जन शक्ति व्यवस्थापनका कार्य प्रदेश सरकारले गरिरहेको बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले गरेका कामका बारेमा सुझाव दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले मन्त्रालयले नागगरिकको सहज रुपमा स्वास्थ्य पहुच पुर्याउनु पर्ने बताए । कार्यक्रम लुम्बिनी प्रदेश स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोद गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण निर्देशनालयका जनस्वास्थ्य निरीक्षक रामप्रसाद भट्टराइले गरेका थिए ।