अख्तियारले साढे दुई वर्षसम्म पनि अनुसन्धान सकेन
Monday, January 31st, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
बाँकेको जानकी गाउँपालिका-४ का तजबहादुर हमाललाई २०६७ सालमा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको कित्ता नम्बर १०४ को ४ कठ्ठा ९ धुर जग्गा अहिले नक्सामै छैन । जग्गाको कित्ता नै गायव पारेर नक्सा तयार गरी आफूमाथि अन्याय गरिएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हमालले २०७६ सालमा उजुरी दिएका थिए । तर उक्त उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले पनि अनुसन्धान गरिरहेको बताउँछ ।
अख्तियारमा पर्ने उजुरीमाथि अख्तियारको केन्द्रिय कार्यालयले प्रारम्भिक जाँच गर्छ । प्रमाण नपुगेका, गोलमोटल र आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयका उजुरीलाई तामेलीमा राखिन्छ । अन्य उजुरीका सम्बन्धमा प्रारम्भिक अनुसन्धान प्रकृया लग्न सम्बन्धित क्षेत्रको अख्तियारको कार्यालयमा पठाइन्छ । प्रारम्भिक अनुसन्धानका क्रममा भ्रष्टाचारजन्य कसुर भएको हुनसक्ने तथ्य देखिएमा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने गरिन्छ । तजबहादुरको उजुरी २०७६ भदौ २५ गतेबाट भ्रष्टाचार गरिएको तथ्य देखिएकोले विस्तृत अनुसन्धानमा रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।
अख्तियारले अनुसन्धानमा ढिलाई गर्दा तजबहादुरलाई भने दोषीले उम्किने अवसर पाउने चिन्ता छ । ‘कहिलेसम्म अनुसन्धानमै राख्ने । यसरी त दोषीले अनेक जालझेल गरेर उम्किन पाउने जोखिम हुन्छ । दोषीलाई चाडोभन्दा चाडो कारबाहीको दायरामा ल्याउनुपर्नेमा अख्तियारले झन् ढिलाई गरिरहेको छ,’ तजबहादुरले भने ।
अख्तियारको नेपालगन्ज कार्यालयका कर्मचारी मालपोत र नापी कार्यालयले आवश्यक कागजपत्र दिन ढिलाई गर्दा अनुसन्धानमा ढिलाई भएको बताउँछन् । तर तजबहादुर अख्तियारले आफ्नो जग्गा प्राप्तिका लागि कानुनी कारबाहीमा जाँदा आवश्यक पर्ने कागजपत्रहरु पनि अख्तियारले लिएर राखेको गुनासो गर्छन् । ‘मैले कानुनी बाटोबाट पनि जग्गा आफ्नो जग्गा प्राप्तिको प्रयास गरेको हुँ । तर अख्तियारले आवश्यक कागजपत्र लिएर अनुसन्धान नसकिएसम्म दिन नमिल्ने बताउँदै आएको छ । न अनुसन्धान चाडो गर्छ न कागजपत्र दिन्छ,’ हमालले भने ।
२०२४ सालको नापीमा रहेको खजुराखुर्द-२ ख को कित्ता नम्बर १०४ को जग्गाको लालपुर्जा तजबहादुर हमालको नाममा छ । तर, २०५८ सालमा नापी गरिएको भनिएको नक्सामा उनको जग्गाको कित्तालाई दुई भागमा विभाजन गरेर ३३० र ३४० कित्ता नम्बर लेखिएको छ । तजबहादुर नापीले देखाउने गरेको नक्सा नै किर्ते भएको दाबी गर्छन् । उनका अनुसार २०६७ सालमा प्राप्त उक्त जग्गाको लालपुर्जामा १०४ नम्बर लेखिएको कित्ता भएको नक्सालाई गायब पारेर अहिले नापी कार्यालयले अर्को नक्सा देखाउने गरेको छ । जसमा १०४ नम्बरको कित्ता नै छैन ।