विपन्नलाई खाद्यान्न तथा न्यानो सामग्री वितरण
Sunday, January 30th, 2022, 9:10 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको समन्वयमा केयर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि-ग्रुपपद्वारा सन्चालित शीत लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तगर्त नेपालगन्ज उप-महानगरपालिकाका विभिन्न वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री वितरण गरिएको छ ।
आइतबारदेखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नम्बर १, ४ र ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीत लहरबाट प्रभावित अति विपन्न १७० धरधुरीले भौचर मार्फत १३ हजार पाँच सय बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्नेछन् । साथै ४० जना गर्भवती र सुत्केरी महिलाले दुई हजार बराबरको पोषण खाद्यान्न प्राप्त गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुले भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी-ग्रुपका अध्यक्ष टेक बहादुर पुनले जानकारी दिए ।
लाभग्राहीहरुले पाँच हजार दुई सय बराबरको दाल, चामल, नुन, चिनी, तेल, साथै दुई हजार पाँच सय पचास बराबरको पारिवारीक सामाग्री कम्बल सिरक, पिफम र पाँच हजार सात सय ५० को आधारभुत ब्यक्तिगत न्यानो कपडा लगायतका विभिन्न खाद्यान्न तथा न्यानो कपडा सामग्री गरी जम्मा १३ हजार पाँच सय बराबरको प्राप्त गर्ने बी-ग्रुपका कार्यक्रम संयोजक सोम गुरुङ्गले जानकारी दिए ।