शिलान्यास भए तर बनेनन् डोल्पाका अस्पताल
Monday, January 31st, 2022, 5:33 pm
Kalpristha
–विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले प्रारम्भिक स्वास्थ्य सेवा अस्पताल भवन निर्माणको लागि गत वर्षको मंसिर १५ गते तामझामका साथ भवनको शिलान्यास गरिन् । तर भवन निर्माणको लागि शिलान्यास एक वर्ष वित्ति सक्दा समेत भवन निर्माणको सुरसार सम्म भएको छैन ।
सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि सदरमुकाममा रहेको अस्पतालमा जानुपर्ने बाध्यता सर्वसाधारणको छ । अस्पताल भवनको शिलान्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो । गाउँमै अस्पताल बन्ने देखेर औधी खुशि भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन् ।
देशैभरका सबै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पुर्याउने सरकारको लक्ष्य अनुसार २०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभुत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैया उपलब्ध गराउने निर्देशन गरेको थियो । सरकारी अनुदान प्राप्तीको लागि देशैभर रहेका स्थानीय तहले अस्पताल निर्माणको लागि एकैसाथ भवन शिलान्यास गरेका थिए ।
हिमाली जिल्ला डोल्पाका ८ ओटा स्थानीय तहमध्ये पहिलो चरणमा आधारभूत अस्पताल निर्माणको लागि तीनवटा स्थानीय तह छनोट भएका थिए । छनौट भएका स्थानीय तहमध्येमा डोल्पोबुद्ध गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका हुन् । सरकारले छनोट गरेपनि तीनवटै स्थानीय तहमा अस्पताल बनाउने जंगा टुंगो नलाग्दा तीनवटै स्थानीय तहमा अस्पताल निर्माण कार्य अहिले सम्म अन्योलमा छ ।
त्रिपुरासुन्दरी नगरअस्पताल निर्माणको लागि स्थानीय समाजसेवी टंकप्रसाद उपाध्यायले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा ०७७ मंसिर १५ मा भवन निर्माणको लागि शिलान्यास गरिएपनि अझै दश रोपनी जग्गा अपुग भएपछि निर्माण कार्य सुरु हुन नसकेर ढिलाई भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीले बताए । ठेक्का भइसकेपनि जग्गा अपुगका कारण अन्योलमा परेको अस्पताल निर्माण कार्यलाई मूर्तरुप दिनको लागि त्रिपुरासुन्दरी नगरपालिका- १ रल्लीमा रहेको राजारानीस्थित जग्गामा पुन सर्वे गरेर भवनको लागि फिल्ड सम्याउने कार्य भइरहेको पनि प्रशासकिए अधिकृत गिरीले बताए ।
अस्पतालका लागि पहिलो चरणमा एक करोड रुपैयाँ समेत प्राप्त भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । त्यसैगरि उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पनि अस्पताल निर्माणकार्य अन्योलमा परेको छ । गाउँपालिकाको केन्द्र धोमा बनाउने भनिएको अस्पतालको अहिलेसम्म बिस्तृत योजना प्रतिवेदन(डिपिआर) गर्ने काम समेत सम्पन्न हुन सकेको छैन ।
सरकारको लक्ष्य अनुसार दश शैयाको अस्पताल निर्माण गर्ने भनेर पहिलो चरणमा ८५ लाख बजेट प्राप्त भएको तर जग्गा नपुग्दा निर्माणकार्य समेत अन्योलमा परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पज्ञांनीले बताए । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नम्बर ६ मा बनाउने भनिएको पाँच शैयाको अस्पताल पनि जग्गा अपुगका कारण शिलान्यास समेत हुन सकेन ।
सरकारबाट आधारभुत अस्पताल निर्माणकालागि पहिलो चरणमा ७४ लाख रकम प्राप्त भएको गापा अध्यक्ष दत्तबहादुर शाहीले बताए । केपी ओली नेत्ृत्वको सरकारले प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण अभियान बमोजिम न्यूनतम एक करोड सम्मको बजेट विनियोजन गरेपनि कतिपय स्थानीय तहले बजेट फ्रिज जान नदिनको लागि शिलान्यासको नाटकीय प्रपन्च गरेपनि अहिले सम्म भवन निर्माणको डिपिआर सम्म नबनाउनु दुखद भएको स्थानीय देविकृष्ण उपाध्यायले बताए ।