पुस्तकालय सुधारका लागि सहयोग गर्छुः चौवे
Tuesday, February 1st, 2022, 5:30 am
Kalpristha
नेपालगन्जस्थित महेन्द्र पुस्ककालयका पुस्तकाध्यक्ष सच्चिदानन्द चौवेले पुस्तकालय सुधारका लागि सहयोग गर्ने बताएका छन् । कालपृष्ठसँग कुरा गर्दै चौवेले पुस्तकालयका आर्थिक हरहिसाबका कागजपत्र र अन्य रेकर्डहरु आफूले एकत्रित गरेर जिल्ला पुस्तकालय व्यवस्थापन समितिमा बुझाउन लागेको बताए ।
उनले नेपालगन्ज उप-महानगरपालिकाले पुस्तकालय सुधारमा सहयोग गर्नुको साटो झन् समस्या सृजना गरेको आरोप लगाए । नेपालगन्ज वडा नम्बर ८ का वडाध्यक्षले आर्थिक हिसाबकिताबमा प्रश्न उठाएकोमा उनले खण्डन गर्दै आफूले हिसाबकिताब पारदर्शीरुपमा राखेको दावी गरेका छन् । दुई दशकदेखि व्यवस्थापन समितिविहीन रहेको अवस्थामा आफूले उक्त विवरणहरु सार्वजनिक गर्न नपाएको उनले बताए ।
०५२ सालमा अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो दुईवर्षे कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण नै गरेनन् । चौवेले तत्कालिन अवस्थामा माओवादी युद्धका कारण पुस्तकालयको नयाँ कार्यसमिति बन्न नसकेको बताए । त्यसपछि कार्यसमितिमा भएका केही सदस्यहरु दिवंगत भएको र अधिकांश निष्क्रिय रहेको कारण नयाँ कार्यसमिति नबनेको आफूले बुझेको चौवेले बताए ।
अब पुस्तकालयका आर्थिक एवं पुस्तकालयका प्रशासनिक कागजपत्रसहित आजीवन सदस्यहरुको नामावली जिल्ला पुस्तकालय व्यवस्थापन समितिका सदस्य सचिव जिल्ला शिक्षा समन्वय अधिकारी रामसुरेश यादवलाई बुझाउन लागेको उनले बताए । यादवले पनि चौवेमार्फत् पुस्तकालयका कागजपत्रहरु प्राप्त भएपछि पुस्तकालयका आजीवन सदस्यसहित सम्बद्धहरुको भेला गराएर नयाँ कार्यसमिति चयन गर्ने प्रकृयामा अघि बढेको जानकारी दिएका छन् ।
जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रहेको छ । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहन्छन् । उक्त समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रहने व्यवस्था छ ।
उक्त समितिले पुस्तकालयको व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९ मा गरिएको छ ।
‘वडा नम्बर ८ ले अनधिकृत कब्जा गर्यो’
नेपालगन्ज, १७ माघ (कालपृष्ठ)- नेपालगन्ज वडा नम्बर ८ ले उसको क्षेत्राधिकारभन्दा बाहिर गएर पुस्तकालयसँग कुनै अनुमति नै नलिई एउटा हल कब्जामा लिएको र त्यसमा युवा सूचना केन्द्र स्थापना गरेको बताए । पुस्तकालका हलमा वडाका सरसामानहरु राख्ने, पुस्तकालय हललाई अन्य प्रयोजनमा प्रयोग गर्न दवाब दिने, पुस्तकहरुलाई अव्यवस्थित गराइदिएको गुनासो चौवेको छ ।
वडाको अनुपयुक्त हस्तक्षेप सुरु भएपछि र आफ्नो स्वास्थ्यमा समस्या आएपछि पुस्तकालय खुला राख्न छोडेको उनको भनाइ छ । यसका वडा कार्यालयले पुस्तकालयलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेको र त्यसलाई आफूले रोक्न खोजेको पनि बताए । वडा नम्बर ८ ले पुस्तकालयको मूल गेटमा आफ्नो ताल्चा लगाएर आफूलाई पुस्तकालय खोल्ने वातावरणमा अहजता ल्याएको पनि उनले बताए । चौवेले वडा नम्बर ८ ले सन्चालन गरेको युवा सूचना केन्द्रको बिजु्लीको बिल पनि वडाले नतिर्ने गरेको बताएका छन् ।
वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले पुस्तकालयमा अनावश्यक हस्तक्षेप नगरिएको दाबी गरे । ॅहामीले वडामा रहेको सार्वजनिक सम्पत्तिको प्रयोग गरौँ भनेर त्यहाँ युवा सूचना केन्द्र स्थापना गरेका हौँ । त्यसको प्रकृयामा केही कमजोरी भएको भए हामी छलफल गर्न तयार छौँ,’ वडाध्यक्ष गुप्ताले भने ।