‘आधुनिक’ नेपालगन्ज बसपार्कको भएन सदुपयोग
Wednesday, February 2nd, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्जमा ‘आधुनिक’ बसपार्क निर्माण भई सन्चालनमा आएको दुई पर्ष चार महिना भइसकेको छ । तर नेपालगन्जका सडकमै लामो तथा छोटो दूरीका सवारी साधनहरु पार्क गरेर यात्रु यात्रु चढाउने क्रम रोकिएको छैन । अवस्था यस्तो छ कि अत्याधुनिक टर्मिनलसहितको बसपार्क यात्रु नआउँदा सुनसानजस्तै हुने गरेको छ ।
विशेषगरी अधिकांश मिनिबस, हायस, विंगरलगायतका साना गाडीहरु बसपार्कबाट खाली नै बाहिरिन्छन् । उनीहरु बसपार्क बाहिरको सडकमै पार्किङ गरेर यात्रु चढाउँछन् । एकअर्थमा बसपार्कमा हुनुपर्ने सबै कामहरु सडकमै हुन्छन् । बसपार्क क्षेत्रका कतिपय होटल व्यवसायीले पनि कमिसनमा आफ्ना पाहुनाहरुलाई गाडीमा चढाउने गरेका यातायात कर्मचारीहरु बताउँछन् । यात्रुहरु पनि टिकट लिएर चढ्नभन्दा बाहिरबाटै चढ्न सजिलो हुने गरेको बताउँछन् ।
बसपार्कबाट खाली बाहिरिएका गाडीहरु कारकाँदो चोक तालिमकेन्द्रअघि घण्टौँ रोकिएर यात्रुहरु चढाउने गर्दछन् । जसका कारण सडकमा आवतजावतमा कठिनाई हुने गरेको छ भने सडक पनि गाडीहरुका कारण भत्किसकेको छ ।
वास्तवमा बसपार्कबाट गाडी बाहिरीसकेपछि निश्चित स्थानमा पाँच मिनेट रोकेर यात्रु चढाउन र झार्नुपर्ने नियम रहेको ट्राफिक प्रहरी बताउँछ । तर, बसपार्कबाट बाहिरसकेका गाडीहरुले बाहिर सडकमा आएर अर्को पार्किङस्थल बनाउँछन् । यसरी सडकमै गाडीहरु पार्किङ गरेर यात्रु चढाउने झार्ने काम नेपालगन्जको धम्बोझी चोक र कारकाँदो प्रहरी तालिम केन्द्रअघि हुने गरेको छ । धम्बोझीमा गुलरिया जाने गाडीहरु सडकमै पार्किङ गरिँदा फराकिलो सडक पनि जोखिमपूणर् हुने गरेको छ ।

सडकमा गाडी रोक्दा भएको जाम
बसपार्कमा हरेक १० मिनेटमा एउटा गाडी छुट्ने व्यवस्था गरिएको छ । त्यसको कारण सडकमा जाम नहोस् भन्ने रहेको छ भने सबै गाडीहरुले समानरुपले यात्रुहरु पाउन् भन्ने रहेको छ । तर सडकमा गाडी रोकेर गाडीका कर्मचारीहरुले यात्रुहरुलाई जबरजस्ती तान्ने गरेका छन् । जसकारण यात्रुहरुले पनि दुव्र्यवहारका साथै सास्ति खेप्नुपर्ने गरेको छ ।
२०७६ साल असोजमा सन्चालनमा आएको बसपार्क ४ विगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । १६ करोड १६ लाख लगानीमा निर्माण भएको बसपार्कमा १२३ ठूला बस र ५६ साना बस राख्ने क्षमता रहेको छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । तर, ती सुविधाको उचित प्रयोग हुन सकेको छैन । बसपार्क भित्र भएका सटरमा व्यपार गर्नेहरु ग्राहक नआउँदा भाडा तिर्न पनि सकस भइरहेको बताउँछन् । ७० प्रतिशतभन्दा बढी यात्रुहरु बसपार्क बारिहबाटै गाडी चढ्ने गरेपछि बसपार्क भित्र पसल चलाइरहेका व्यवसायीहरु मर्कामा परेका छन् ।
बसपार्क सन्चालन र व्यवस्थापन गर्ने जिम्मा पाएको शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स बसहरु सडकमा रोक्ने प्रकृत्ति नियन्त्रण गर्नू आफूहरुको क्षमतामा नपर्ने बताउँछ । शिवशीक्तका एकजना सन्चालक पदमबहादुर शाहीले बसहरु बाहिर रोक्ने प्रवृत्ति नियन्त्रण गर्न नेपालगन्ज उप-महानगरपालिकासँग लिखितरुपमा सहयोग मागिएपनि त्यसको कुनै जवाफ नआएको बताए ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले भने उक्त पत्रबारे अनभिज्ञता प्रकट गरे । उनले उक्त समस्याबारे मौखिक जानकारी भने पाएको बताए । ‘एकपटक अनुगमनका क्रममा उहाँहरुले उक्त समस्या त सुनाउनुभएको थियो । तर पत्रबारे थाहा भएन । यद्धपि उक्त समस्या समाधानका लागि हामी प्रयास गर्छौँ,’ सुवेदीले भने ।