असिनाले दलहन, तेलहन र तरकारी बालीमा क्षति
Thursday, February 3rd, 2022, 8:02 pm
Kalpristha
फइल तस्बिर
बिहीबार परेको असिना पानीले दलहन बालीमा क्षति पुर्याएको छ । नेपालगन्जसहित बाँकेका विभिन्न भागमा परेको असिना पानीले दलहन बाली सहित तोरीको रायो जातका बालीमा पनि क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
नेपालगन्ज २४ स्थित स्थानीय जयपृथ्वी कृषि सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र चन्दले मसुरो, चना र टिप्न बाँकी तोरीमा क्षति पुर्याएको जानकारी दिए । उनले भने, ‘सबैभन्दा बढी चनालाई नोक्सान गरेको छ । चनाको अमिलो पन नै असिनाले बिगारी दिएको छ । मसुरो पनि अब केही दिनमा घाम नलाग्ने हो भने सबै ढुसी लाग्छ । रायोको फूलहरु पनि झारिदिएको छ ।’ चन्दका अनुसार जयपृथ्वी सहकारीको क्षेत्रमा करिब ८ बिघामा चना खेती गरिएको थियो ।
यस्तै बैजनाथका किसान पृथ्वी रावललले पनि दलहन र भित्र्यान बाँकी तेलहन बालीमा नोक्सानी गरेको बताए । उनका अनुसार केही स्थानमा चट्याङ लागेर परालमा क्षति पनि पुगेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत सकिल अहमदका अनुसार अहिले परेको पानीले गहुँबाहेक हरु कुनै बालीलाई पनि फाइदा गर्दैन । ‘असिनाले त पात र डाँठहरु नै भाँचिदिन्छ र फूलहरु झारिदिन्छ । यसकारण यो पानी त किसानका लागि कुनै हिसाबले फाइदाजनक छैन,’ उनले भने । यसका साथै आलुमा पनि पानीले क्षति पुर्याएको छ । आलुका लागि पर्याप्त घाम लाग्नु आवश्यक हुनेमा लगातार पानी पर्नु र बादल लागिरहनु नोक्सानजनक हुने उनले बताए । असिनाका कारण भएको क्षतिबारे विवरण संकलन गरिने उनले बताएका छन् ।
केहीदिन मौसम खराब रहने
पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कणर्ाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो । वर्षाले यहाँको चिसो झन बढेको छ भने असिनाले अन्नबालीमासमेत क्षति पुर्याएको छ ।
पहाडी जिल्लाको उच्च स्थान तथा हिमाली जिल्लामा हिमपात भएको छ । पश्चिम तराईका अधिकांश जिल्लामा सामान्य वर्षा हुनुका साथै केही स्थानमा असिना पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वरिष्ठ मौसमविद राजु प्रधानाङ्गका अनुसार बिहीबार लुम्बिनी प्रदेशका बाँके र दाङमा अरू जिल्लाभन्दा केही बढी वर्षा भएको छ । त्यस्तै कणर्ाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भएको छ । कणर्ाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपातसमेत भएको मौसमविदहरूले जनाएको छन् । तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा अत्यधिक चियो बढेको छ ।
बिहानैदेखि तराईमा हुस्सु लागेको थियो र पहाडमा कुहिरो ढाँकेको थियो । हुस्सु, कुहिरोसँगै वर्षा भएपछि यहाँका उडानसमेत प्रभावित भएका थिए । शुक्रबार पनि देशैभर वर्षा हुने र केही स्थानमा चट्याङसहित असिना पानी पर्नेछ ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने जनाइएको छ ।