सेवा विस्तारमा खजुरास्थित क्यान्सर अस्पतालको फड्को
Friday, February 4th, 2022, 6:22 pm
Kalpristha
–निशु जोशी
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पछिल्लो एक वर्षमा सेवा विस्तारमा फड्को मारेको छ । अस्पतालले एक वर्षको अवधिमा पाँच सय ३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ । गतवर्ष २०७७ चैतबाट क्यान्सर भएको आंशका भएको अंगको अप्रेशन गरेर मासुको टुक्रा निकालेर गरिने परीक्षण (हिस्टोप्याथोलोजी) सेवा सुरु गरेको अस्पतालले हालसम्म करिब आठ सय भन्दाबढी शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए-नभएको एकीन गरिसकेको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले जानकारी दिएका छन् ।
सर्जरी र हिष्टोप्याथोलोजी सेवा सुरु भएपछि लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका बिरामीले चितवन, भक्तपुर वा लखनउ जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमोथेरापी सेवालाई पनि निरन्तरता दिइरहेको छ । हाल करिब तीन सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका डा. आचार्यले बताएका छन् ।
२०७७ असोज ५ गते अस्पतालमा कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेका डा. आचार्यले आफू आइसकेपछि अस्पतालमा बिरामीको संख्या बढेको र सेवा विस्तारमा फड्को मारेको बताए । ‘हाम्रो टिम आउनुभन्दा अघि क्यान्सरको उपचार गराइरहेका बिरामीहरु करिब दुई सय ५० जना हुनुहुन्थ्यो भने अहिले बढेर हजारभन्दा बढी पुगेको छ । क्यान्सरको पहिचान गर्ने प्रविधि थपिएपछि नै संख्या बढेको हो ।’ यसका साथै पहिले ओपिडीमा २०-२५ जना बिरामी दैनिक आउने गरेकोमा हाल करिब एक सय ५० जना दैनिक आउने गरेका छन् ।
अस्पतालमा ६० जनाको जनशक्ति बढेर एक सय जनाको टिम पुगेको पनि डा. आचार्यले बताएका छन् । डा. आचार्यका अनुसार डेढ वर्षको अवधिमा नौ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्ति अस्पतालमा थपिएका छन् । डेढ वर्षमा मेडिकल अंकोलोजिष्ट, गाइने अंकोलोजिष्ट थपिएका छन् । विशेषज्ञले क्यान्सरका बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिइरहेका छन् ।
क्यान्सर अस्पतालले जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा विस्तार गरिसकेको छ । अस्पतालमा सर्पदंश उपचार सेवा पनि सन्चालमा छ । उपचार सेवा थपिदैं गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी दैनिक एक लाख पुगेको छ । अस्पताललाई नेपाल सरकारले वार्षिक करिब ६ करोड अनुदान दिँदै आएको छ ।
थप सेवा विस्तारको तयारीमा अस्पताल
अस्पतालका निर्देशक डा. आचार्य अब अस्पतालले पूणर् सेवा दिनका लागि रेडियोथेरापी प्रविधि आवश्यक रहेको बताउँछन् । अस्पतालले क्यान्सरका बिरामीहरुको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकी थेरापी सुरु गर्ने तयारी गरिरहेको छ । माघ महिनाभित्रै ब्राकी थेरापी सुरु गर्ने तयारीमा रहेको डा. आचार्यले बताए ।
बाहिरी सेकाईका लागि आवश्यक लिन्याक मेसिन आउन अझै ३-४ महिना लाग्ने डा. आचार्य बताउँछन् । लिन्याक मेसिनका लागि संघीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चता भएर खरिदको प्रक्रिया अगाडि बढेकाले रेडियसन थेरापी पनि सुरु हुने पक्का भइसकेको उनले बताए ।
यसैगरी अस्पतालले ६ बेडको आईसीयु सेवा सुरु गर्ने, बेड संख्या ४० बाट बढाएर एक सय बेड पुर्याउने, फागुनदेखि डेन्टल र अर्थोपेडिक सेवा सुरु गर्ने तयारी गरेको छ । डाइलाइसिस सेवा सुरु गर्नका लागि पनि परामर्श भइरहेको डा. आचार्यले बताएका छन् ।
२०५६ सालमा महायज्ञ लगाएर अस्पताल निर्माणको सुरुवात गरिएकोमा २०७० असारबाट अस्पतालले क्यान्सरका बिरामीहरुको उपचार सेवा सुरु गरेको थियो । पहिला ७ वर्ष अस्पतालमा ओपिडी सेवा र शंकास्पद बिरामीलाई भरतपुर र भक्तपुरस्थित क्यान्सर अस्पताल रिफर गर्ने र किमोथेरापी गर्ने काममा सीमित रहेको थियो । २०७३ साल फागुनमा अस्पतालको स्वामित्व सरकारले लिएको थियो । तर, अस्पतालमा डा. आचार्य निर्देशक भएर आएपछि सेवा विस्तारमा तीव्रता आएको हो ।