मालपोत बाँकेको सेवा छैन सन्तोषजनक
Sunday, February 6th, 2022, 8:28 pm
Kalpristha
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले प्रदान गर्ने सेवा सन्तोषजनक नरहेको एक अध्ययनले देखाएको छ । बास नेपालले ५० जना नागरिकहरुको गुनासो संकलन गरेर गरेको ध्ययनले कार्यालयको सेवा सन्तोषजन नरहेको पाइएको हो ।
सेवाग्राहीहरु मालपोतको सेवा प्रबाह बारे असन्तुष्ट रहेको, सेवा लिँदा स्पष्ट जानकारी नभएको, अस्पष्ट सूचना पाएको, कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसंग अपेक्षित व्यवहार नगरेको पाइएको छ । सेवाग्राहीहरुमध्ये ४८ प्रतिशतले कार्यालयबाट ठिकै जानकारी प्राप्त भएको, ३२ प्रतिशतले अस्पष्ट सूचना प्राप्त भएको बताएका छन् भने २० प्रतिशतले अति स्पष्ट सूचना प्राप्त भएको अभिमत दिएका छन् ।
यसैगरी सेवा प्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? भन्ने प्रश्नमा अति धेरै भन्नेमा १६ प्रतिशत, थोरै भन्नेमा ३२ प्रतिशत र ठिकै भन्नेमा ५२ प्रतिशत रहेका छन् । त्यस्तै सेवाग्राहीहरु मध्ये १० प्रतिशतले कर्मचारीहरुबाट अभद्र, अमर्यादित व्यवहार भएको बताएका छन् भने ५० प्रतिशतले ठिकै र ४० प्रतिशतले मिलनसार, मैत्रीपूणर् व्यवहार रहेको बताएका छन् ।
सेवा प्राप्त गर्न आवश्यक सूचनाहरु (प्रमाण, कागजात) र शूल्क, दस्तुर बारे सेवाग्राहीहरुले मिश्रित प्रतिकृया दिएका छन् । जसमा सेवाग्राहीहरु मध्ये १० प्रतिशतले अलमल हुने गरि अस्पष्ट सूचना दिएको बताएका छन् भने ६४ प्रतिशतले ठिकै भन्ने प्रतिकृया दिएका छन् । २६ प्रतिशतले अति स्पष्ट पारेको बताएका छन् ।
त्यसैगरी दुई प्रतिशत सेवाग्राहीहरुले कर्मचारीहरुबाट समस्या समाधान दिन नसकेको, ७८ प्रतिशतले ठिकै रुपमा समस्या समाधान दिएको र २० प्रतिशतले अति सजिलो तरिकाबाट समस्या समाधान दिएको बताएका छन् । सेवाग्राहीहरु मध्ये २० प्रतिशतले लामो, झण्झटिलो प्रकृया रहेको, ७० प्रतिशतले प्रकृया ठिकै रहेको र १० प्रतिशतले अति सजिलो प्रकृया रहेको बताएका छन् । सेवाग्राहीहरुले शौचालय सरसफाई नभएको, टोकन प्रणाली सुचारु गर्नुपर्ने, भिडभाड व्यवस्थापन गर्नुपर्ने, कर्मचारीको उपस्थिती नियमित हुनुपर्ने प्रतिकृया दिएका छन् ।