तीन महिनामै फेरिए प्रशासकीय अधिकृत
Monday, February 7th, 2022, 8:08 pm
Kalpristha
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको तीन महिनामै सरुवा भएको छ । कात्तिक ८ गते मात्र नेपालगन्ज आएका प्रमुख प्रशासकीय अधिकृत सुवदेदी तीन महिना १५ दिनमात्रै नेपालगन्जमा बस्न पाए । नयाँ प्रशासकीय अधिकृतकोरुपमा नेपालगन्जमा जगत बस्नेत आएका छन् । बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् । सरुवा भएर आएका बस्नेतले जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।
सोमबार सुवेदीको विदाई र बस्नेतलाई स्वागत गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाई कार्यक्रममा मेयर डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकामा अवधि नपुग्दै मन्त्रालयले बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्नु निकै दुःखद भएको बताए । ४-५ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नाले धेरै काम प्रभावित हुने मेयर राणाले बताए ।
काम गर्दै गरेका प्रशासकीय अधिकृतहरु बीचमै छोडेर जानुपर्ने अनि नयाँ आउनेलाई यहाँ वस्तुस्थिति बुझ्नै समय लाग्ने हुँदा उपमहानगरपालिकाको काम प्रभावित हुने मेयर राणाले बताए ।
सुवेदीभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीको पनि पाँच महिनामैसरुवा भएको थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि नेपालगन्ज उप-महानगरपालिकामा आठ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको छ । हरि प्याकुरेल र ओमबहादुर खड्काले मात्रै एक वर्ष काम गर्न पाएका थिए ।
कोहलपुर नगरपालिकामा पनि आठ वर्षमा १२ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।