जानकीमा सडक निर्माणमा अनियमितता: नहरभन्दा मूनि सडक
Tuesday, February 8th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
सामान्यतया सडक निर्माण गर्दा नहर वा नालीभन्दा बढी उचाई बनाएर निर्माण गर्नुपर्छ । तर बाँकेको जानकी गाउँपालिकामा एक मुख्य सडक नहरभन्दा मूनि निर्माण गरिएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ नहरपुर्वादेखि जानकी गाउँपालिका हुँदै पिप्रहवा जोड्ने सात किलोमिटर सडकलाई गाउँपालिकाले दीर्घकालिन योजनाका रुपमा अघि सारेको छ । करिब आधाभन्दा बढी निर्माण भइसकेको उक्त सडक भने दीर्घकालिन नहुने, सडकमा पुग्ने जो कोहीले सहजै अनुमान लगाउन सक्छ ।
सिक्टा सिचाई आयोजनाको पश्चिम नहरकै छेउ हुँदै निर्माण गरिएको उक्त सडकमा हिउँदको महिनामै पानी जम्मा भइरहेको हुन्छ । निर्माण सम्पन्न नहुँदै सडक ठाउँ-ठाउँमा भत्किसकेको छ । सडकमा पानी जम्मा हुनुको स्वभाविक कारण छ, नहरभन्दा तल उचाई बनाएर निर्माण गरिनु ।
उक्त सडक गाउँपालिकाको मुख्य र सबैभन्दा प्रयोग हुने आन्तरिक सडकका रुपमा रहेको छ । तर, उक्त सडकलाई नहरभन्दा मूनि निर्माण गरेर गाउँपालिकाले वर्षेनी बजेट खर्च गर्नुपर्ने अवस्था सृजना गरेको स्थानीयवासी बताउँछन् ।
स्थानीयवासी मात्रै नभई गाउँपालिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष भूमिसरा धिताल पनि सडक उपयुक्त निर्माण निभएको स्वीकार गर्छिन् । सडकको डिजाइनमा नै त्रुटि भएको उनी बताउँछिन् । योजनाको गुणस्तरका विषयमा अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी काँधमा रहेकी उनले कालपृष्ठ समाचारदाताले सोधेका प्रश्नबाट तर्किँदै भनिन्, ‘म कसलाई भन्न जाउँ ? आफै गाउँपालिकाको नेतृत्वमा छु । त्यतिबेलाको कर्मचारीले नै डिजाइनमा गल्ती गरे ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले उक्त सडक सिक्टा नहरसँगै सटेर निर्माण गर्नुपर्ने अवस्था आएको र सडकको जमिन पर्याप्त नहुँदा स्थानीयसँग चार मिटर जग्गा लिएर सडक निर्माण सुरु गरिएको बताए । उनी पनि सडकको डिजाइन नै दीर्घकालिन तरिकाले निर्माण नगरिएको स्वीकार गर्छन् । ॅसडक योजना त उपयुक्त योजना हो । तर अहिले आएर हामीलाई पनि डिजामइन दीर्घकालिन तरिकाले गरिएन कि भन्ने लागिरहेको छ,’ रानाले भने ।
गाउँपालिकाका मुख्य व्यक्तिले नै सडकको डिजाइन गलत भएको बताइरहँदा सडकमा बजेट भने खर्च भइरहेको छ । योजना रोकिएको छैन । गाउँपालिकाका इन्जिनियर प्रजेशकुमार आले भने सडक बनिसकेपछि सिक्टाले नहर अग्लो बनाएको तर्क गर्छन् । उनको उक्त तर्कलाई सडकको हालतले नै गलत साबित गर्छ । नहरको सतह नै सडकभन्दा माथि छ ।
आलेले अब सडकमा पानी रोक्न थप बजेट खर्च गर्नुपर्ने अवस्था आएको भने खुलासा गरे । ‘सडकमा पानी रसाइरहेको सत्य हो । अब पानी रोक्ने वैकल्पिक उपाय अपनाउनुपर्छ ।’
करिब ७ किलोमिटर सडकमध्ये हालसम्म चार किलोमिटरभन्दा बढी निर्माण भइसकेको र बाँकी चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने आलेले बताए । कूल नौ करोड लागत अनुमान गरिएको सडकमा चार करोडभन्दा बढीको काम भइसकेको तर भुक्तानी भने त्यसको पचास प्रतिशत मात्रै भएको जानकारी दिए ।
गाउँपालिकाले निर्माण गरेको सडक आँखै अघि गुणस्तरहीन बनिरहँदा र गाउँपालिकाको नेतृत्वले नै मापदण्डविपरित सडक निर्माण भइरहेको स्वीकारिरहँदा पनि योजनाको सुधारतर्फ ध्यान नदिनु नीतिगत भ्रष्टाचार भएको स्थानीयवासीहरुको भनाई छ ।