नेपालगन्जमा १६ वर्षपछि पुन:स्थापित गरियो राजा त्रिभुवनको सालिक (भिडियोसहित)
Saturday, February 19th, 2022, 2:55 pm Kalpristha
नेपालगन्जको त्रिभुवन चोकमा १६ वर्षपछि राजा त्रिभुवनको सालिक पुनस्र्थापना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवनको शालिक पुनस्र्थापना गरेको हो । इतिहासको संरक्षणका लागि सालिक पुनस्र्थापना गरिएको राप्रपाले जनाएको छ ।
नेपालगन्जको मुटुका रुपमा त्रिभुवनचोकलाई लिने गरिएको छ । यो यहाँको ऐतिहासिक चोक हो । उक्त चोकमा २००७ सालसम्म जुद्ध शमशेरको सालिक थियो । २००७ सालको जनआन्दोलनका बखत आन्दोलनकारीले जुद्ध शमशेरको सालिक ढाले । पछि वि.सं. २०२१ मा तत्कालिन राजा त्रिभुवनको सालिक स्थापना भयो ।
राजा त्रिभुवनको सालिक २०६२/२०६३ मा माओवादी कार्यकर्ताले आन्दोलनका क्रममा तोडफोड गरे । त्यसपछि उक्त चोकलाई तत्कालिन मधेश आन्दोनका क्रममा सहादत प्राप्त गरेका व्यक्तिको नाममा राखिनुपर्ने भन्दै एक पक्षले माग राख्यो । त्यही विवादले उक्त चोक करिब १५ वर्ष कुरुप अवस्था रह्यो ।
कुरुप भएको त्रिभुवनको सालिक भएको स्थानलाई नगरपालिकाले गतवर्ष मात्रै सौन्दर्यरकण गरी नेपालको ठूलो आकारको राष्ट्रिय झण्डा गाडेको थियो । अहिले नेपालको उक्त झण्डा निकालेर उक्त ठाउँमा पुनः त्रिभुवनको सालिक राखिएको छ । सालिकको छेउमा नेपालको सानो आकारको झण्डा राखिएको छ ।