स्थानीय निर्वाचन-२०८९ : खजुरामा कसले बाजी मार्ला ?
Monday, February 21st, 2022, 5:30 am
Kalpristha
–कमल खत्री
स्थानीय तहको निर्वाचन मिति घोषणासँगै नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ । पार्टीले आधिकारिक उम्मेदवार घोषणा गर्न तीनै तहमा नेताहरुले आफनो दाबी प्रस्तुत गर्न सुरु गरिसकेका छन् । बाँकेको खजुरा गाउँपालिकामा पनि आगामी चुनावका लागि काँग्रेस, एमाले, एकीकृत समाजवादी पार्टीले चुनावको तयारीलाई अगाडी बढाईरहेका छन् ।
खजुरा गाउँपालिका एमालेको पकड भएको गाउँपालिका हो । पछिल्लो स्थानीय तहको निर्वाचनमा खजुराका आठ वडामध्ये एमालेले पाँच वटा, काँग्रेसले दुई र माओवादीले एक वडा जितेको थियो । अघिल्लो निर्वाचनमा पाँच वटा जितेको एमालेलाई यसपटक भने केही कठिन हुने देखिन्छ खजुरामा ।
एमाले आफनो पुरानो विरासत जोगाउने कसरतमा छ भने कांगे्रस र माओवादी आफ्नो प्रभाव जमाउँदैं नयाँ नेतृत्व हात पार्ने कसरतमा छन् ।
२०७४ को स्थानीय चुनावमा एमालेका किस्मत कुमार कक्षपतिले आठ हजार ७० मत ल्याएर विजयी हुँदा माओवादीका डम्बरबहादुर विकले ६ हजार आठ सय ९२ र कांग्रेसका मोहम्मद नक्की खाँले चार हजार नौ सय ५४ मत ल्याएर तेस्रो भएका थिए । यसपटकको चुनावमा भने खजुरामा एमालेका लागि सहज विजय हासिल गर्न कठिन देखिन्छ ।
पार्टी विभाजनको असरले प्रभाव पारेमा एमालेलाई आफ्नो विरासत जोगाउन कठिन देखिन्छ भने कांग्रेस र माओवादीका लागि भने त्यो एउटा अवसर बन्न सक्छ ।
आगामी निर्वाचनमा कस्ता उम्मेदावरले टिकट पाउँछन् भन्ने कुराले पनि निर्वाचनको नतिजा परिवर्तन हुने सक्नेछ । एमालेबाट गाउँपालिकाको अध्यक्षको प्रमुख दादेबारका रुपमा भीम ओली, रत्न खत्री र वर्तमान उपाध्यक्ष एकमाया विकलाई हेरिएको छ । उनीहरु एमालेका बलिया उम्मेदवार हुन् । यसैगरी तिलकविर सुनार, सुमन मल्ललाई पनि एमालेबाट सम्भावित उम्मेदवारका रुपमा लिइएको छ ।
कांग्रेसबाट बाँकेको पार्टी सभापति भैसकेका कृष्णमान श्रेष्ठ, नक्की खाँ, रमेश सिजाली मगर, राजेन्द्र आर्चाय र कृष्ण रसाईली विक चर्चामा छन् । एकीकृत समाजवादीबाट लाल बहादुर खत्री र होमनाथ सापकोटालाई सम्भावित उम्मेदवारीका रुपमा हेरिएको छ । माओवादीबाट पुनः डम्बर विक सम्भावित एक्लो अध्यक्षको दाबेदार हुन् । पछिल्लो निर्वाचनमा एक हजार एक सय ७८ मतले किस्मतसँग पराजित भएका कारण डम्बर यसपटकको निर्वाचनमा अरुभन्दा बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
एमाले विभाजनको फाइदा कांग्रेस र माओवादीलाई हुन सक्ने देखिन्छ खजुरामा । पछिल्लो समय कांग्रेसको प्रभाव बढ्दै गएको खजुरामा माओवादीलाई चुनाव जित्न सहज भने हुने छैन । एमाले कमजोर भएका बेला कांग्रेस र माओवादीका उम्मेदवारलाई त्यसको केही फाइदा हुन सक्छ । तर खजुराको निर्वाचनमा प्रभाव पार्ने अर्को पक्ष नेकपा एकीकृत समाजवादी, राप्रपा र मधेशवादी दल हुन् ।
गएको चुनावमा राप्रपा र मधेशवादी दलको मत जोड्दा ६ सय ४० छ । त्यसैले राप्रपा र मधेशी दलले कसलाई सहयोग गर्छन् र कत्ति मत ल्याउँछन् भन्ने कुराले चुनावमा असर गर्ने देखिन्छ । त्यो भन्द प्रमुख कुरा पछिल्लो समय युवापुस्ता हरुमा पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्ने क्रम बढ्दो छ । यसको असर पनि चुनावमा पर्नेछ ।
तेस्रो धारको पार्टीले ल्याउने मत, एमाले फुटको असर र नेतृत्वको व्यक्तिगत क्षमताले खजुराको चुनावको परिणामलाई तय गर्ने प्रमुख आधार बन्न सक्नेछ यसपटक ।