महेन्द्र पुस्तकालयको भद्रगोलबारे अध्ययन गर्न छानबिन समिति गठन
Monday, February 21st, 2022, 8:14 pm
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्जस्थित महेन्द्र पुस्ककालयको अवस्थाबारे छानबिन गर्न व्यवसायी अजय टण्डनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । पुस्तकालयमा साढे दुई दशकदेखि व्यवस्थापन समिति नरहेको, पुस्तकालय लामो समयदेखि बन्द रहेको, पुस्तक र आर्थिक हरहिसाब दुरुस्त नभएको एवं पुस्तकाध्यक्ष सच्चिदान्नद चौवेले राजीनामा दिएको अवस्थामा अवस्था यकिन गर्न छानबिन समिति गठन गरिएको हो ।
जिल्ला पुस्तकालय व्यवस्थापन समितिले सोमबार बैठक गरेर पुस्तकालयका आजीवन सदस्यसमेत रहेका व्यवसायी टण्डनको संयोजकत्वमा शिक्षक, लेखक एवं संघसंस्थाका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो । जिल्ला पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले पुस्तकालय दुई दशकसम्म अव्यवस्थितरुपमा सन्चालन भएकोले त्यस अवधिको सबै वास्तविकता छानबिन गरेर नयाँ व्यवस्थापन समिति निर्माण गर्ने प्रकृयाका लागि पहिले छानबिन गर्न लागिएको जानकारी दिए । छानबिन समितिलाई एक हप्तामा प्रतिवेदन पेश गर्न समय दिइएको छ । उक्त समितिले पुस्तकालयको अवस्था, हरहिसाबका साथै साधारण सदस्य र आजीवन सदस्यको आधिकारिता जाँच गर्नेछ ।समितिमा शिक्षक वीरेन्द्र यादव, प्रकाश आचार्य, गैसस महासंघका सदस्य सूर्यलाल यादव र शिक्षक एवं लेखक गणेशा कार्की सदस्य रहेका छन् ।
जिल्ला पुस्तकालय व्यवस्थापन समितिका सदस्य सचिव एवं जिल्ला शिक्षा विकास समन्वय समितिको कार्यालयका प्रमुख रामसुरेश यादवले छानबिन समितिको राय सुझावसहित अब पुस्तकालयको तदर्थ समिति गठन गरिने जानकारी दिए । तदर्थ समिति छानबिन समितिले यकिन गरेका सदस्यहरुमध्येबाट चयन गरिनेछ । त्यसपछि उक्त समितिले पुस्तकालयको विधानअनुसार संस्थाको अधिवेशन बोलाएर व्यवस्थापन समिति चयन गर्नेछ ।
महेन्द्र पुस्तकालय ०५४ सालयता व्यवस्थापन समिति विहिन छ । २०५२ सालमा समितिको अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण नै गरेनन् । त्यसपछिका वर्षमा पुस्तकाध्यक्षका रुपमा चौवेले पुस्तकालयको रेखदेख र संरक्षण गर्दै आएका थिए । चौवेले केही दिनअघि राजीनामा दिएका छन् । उनले पुस्तकालयमा ४० जना आजीवन सदस्य रहेको विवरण जिल्ला पुस्तकालय व्यवस्थापन समिति बुझाएका छन् ।
व्यवस्थापन समिति विहिन भएको अवस्थामा टण्डन र चौवेले नयाँ समिति गठनका लागि प्रयास नगरी विधानविपरित सन्चालन गर्दै आएका थिए । कन्हैयालाल टण्डन विधानतः स्वतः जिम्मेवारीबाट हटिसकेका छन् । चौवेले आफ्नो उमेर र स्वास्थ्यका कारण पुस्तकालय रेखदेख र सन्चालन गर्न नसक्ने व्यहोरा राजिनामामा लेखेका छन् । साथै उनले आफूले तोकिएको तलब पनि हालसम्म नलिएको उक्त तलब पनि उपलब्ध गराइनुपर्ने माग राजिनामा पत्रमा गरेका छन् ।
जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रहेको छ । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहन्छन् । उक्त समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रहने व्यवस्था छ ।
उक्त समितिले जिल्ला भित्रका पुस्तकालयमा उत्पन्न विवादको टुंगो लगाउन सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९ मा गरिएको छ ।